हेटौँडा । बालबालिकाहरूमा बढ्दो ‘नसर्ने रोग’ (NCDs) को जोखिमलाई न्यूनीकरण गर्ने र स्वास्थ्यका लागि शारीरिक क्रियाकलापको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यले हेटौँडामा अन्तर विद्यालय ‘साइकल च्याम्पियनशिप’ प्रतियोगिता आयोजना हुने भएको छ। ‘स्वास्थ्य सरोकार’ संस्थाले PATH (INGO) सँगको सहकार्य र हिमालयन राइडर्स सोसाइटीको विशेष सहयोगमा आगामी असार १३ गते, शनिबार उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
हेटौँडाको हुप्रचौरबाट बिहान ६ बजे सुरु हुने कार्यक्रमअन्तर्गत सुरुमा विद्यार्थीहरूले नगर परिक्रमा गर्नेछन्। सोपश्चात् ‘साइकल च्याम्पियनशिप’ प्रतियोगिता सञ्चालन हुनेछ। कार्यक्रम व्यवस्थापक राजेन्द्र थापाका अनुसार यस प्रतियोगितामा मकवानपुर जिल्लाका विद्यालयहरूमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्। स्वस्थ जीवनशैली र खेलकुदको माध्यमबाट बालबालिकामा सकारात्मक व्यवहार परिवर्तन ल्याउने लक्ष्य राखिएको यस कार्यक्रमका लागि प्रत्येक विद्यालयबाट ४ देखि ५ जना विद्यार्थी छनोट गरी पठाउन आयोजकले अनुरोध गरेको छ।
प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूका लागि आवश्यक पर्ने साइकल भने उनीहरू आफैँले व्यवस्था गर्नुपर्नेछ। कार्यक्रममा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूका लागि खाजाको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथमदेखि पाँचौँ स्थानसम्म हासिल गर्ने विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद पुरस्कारद्वारा पुरस्कृत गरिनेछ। यसका साथै सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
स्वास्थ्य सरोकारका अनुसार यस खेलकुद कार्यक्रमको सम्पूर्ण व्यवस्थापन खर्च संस्थाले नै व्यहोर्ने छ। कार्यक्रमलाई थप प्रचारप्रसार गर्न र अभिभावक तथा सरोकारवालाहरूले प्रत्यक्ष हेर्न सक्ने गरी युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण (Live) को व्यवस्थासमेत मिलाइएको छ। बालबालिकाहरूलाई खेलकुदको माध्यमबाट स्वस्थ रहन प्रेरित गर्ने यस्तो किसिमको बृहत् कार्यक्रम मकवानपुरमा पहिलोपटक आयोजना हुन लागेको हो।


































































