हेटौँडामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि सचेतना कार्यक्रम सम्पन्न

हेटौँडा । हेटौँडा–११ स्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि एकदिने सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ। सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको सभाध्यक्षता तथा हेटौँडा–११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा हेटौँडा क्षेत्रका २४ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक कृष्ण दासले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले भोग्नुपर्ने कानुनी जटिलता र न्यायपूर्ण जीवनयापनका लागि प्राप्त हुने कानुनी संरक्षणका विषयमा प्रस्ट पार्नुभएको थियो। त्यसैगरी, मामाघर नेपालका संस्थापक तथा उत्प्रेरक डा. अर्पण पराजुलीले यस समुदायको जीवनयापन र आयआर्जनका लागि विभिन्न सीपमूलक तालिमको आवश्यकता रहेको औँल्याउनुभयो। उहाँले मानिस भएपछि मानवीय मर्यादामा रहेर गरिने कर्मले नै असल परिणाम दिने भन्दै उत्प्रेरणा प्रदान गर्नुभयो।

कार्यक्रममा फ्रेन्ड्स हेटौँडाका अध्यक्ष किरण थापाले समाज र राज्यबाट अल्पसङ्ख्यक समुदायले पाउनुपर्ने मानवीय व्यवहार र अवसर नपाउँदा यो समुदाय सडकमा आउनुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो। यस्तै, मायाको पहिचान नेपालकी प्रतिनिधि सन्ध्या लामाले राज्यका निकायहरूले अल्पसङ्ख्यक समुदायलाई उचित अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। यसै कार्यक्रमको अवसर पारेर फ्रेन्ड्स हेटौँडा र मायाको पहिचान नेपाललाई संस्थागत कामकाजमा सहयोग पुर्‍याउने उद्देश्यले ३–३ हजार रुपैयाँ बराबरको अफिसियल सामग्रीसमेत हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा वडा सदस्यहरू गोपिनी सापकोटा र गीता सुनार, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पूर्व अध्यक्ष शालिकराम पुडासैनी, प्रहरी जवान सम्झना गिरीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यस प्रकारका सचेतना कार्यक्रमले समुदायमा व्याप्त विभेद अन्त्य गर्न र लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई सम्मानजनक वातावरणमा बाँच्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.