हेटौँडामा ‘महिला मैत्री बहस’: समतामूलक समाज निर्माणमा सरोकारवालाहरूको जोड

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडामा ‘महिला मैत्री हेटौँडा: वर्तमान र भविष्य’ तथा ‘समतामूलक समाज निर्माणमा स्थानीय तहको भूमिका’ विषयक बहस कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले महिला मैत्री सहर निर्माणका लागि नीतिगत सुधार र व्यावहारिक अभ्यासमा जोड दिएका छन्। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी श्री पाण्डे र सुनिता बिष्टले गर्नुभएको थियो।

बहसमा सहभागिता र धारणा
बहसमा नगरप्रमुख मीनाकुमारी लामा, वरिष्ठ पत्रकार बबिता बस्नेत, बागमती प्रदेश सरकारकी पूर्व सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, गैरसरकारी संस्था महासङ्घ नेपालका उपमहासचिव किरण थापा, उपमेयर राजेश बानियाँ, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारालाल श्रेष्ठ, समावेशी आयोगकी पूर्व कार्यवाहक अध्यक्ष विष्णुमाया ओझा र जेन्जी अभियन्ता रक्षा बमले आ–आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि तथा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली (सापकोटा) ले विगतको तुलनामा सहरहरू महिला मैत्री बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “परिवर्तन रातारात सम्भव नहोला, तर यस्ता निरन्तरको बहस र पैरवीले सहरलाई महिला मैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।”

सो अवसरमा जेसी विज्ञ निलम धनुषीले महिला मैत्री सहर निर्माणका लागि पूरा गर्नुपर्ने विभिन्न चरण र मापदण्डहरूबारे प्राविधिक जानकारी दिनुभएको थियो।

सहभागिता
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललितबहादुर घलान, वडाध्यक्ष जुना दाहाललगायत सरोकारवाला निकायका प्रतिनिधि, अधिकारकर्मी र नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो। बहसले हेटौँडालाई अझ सुरक्षित, समावेशी र महिला मैत्री सहर बनाउन भावी रणनीति तय गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.