हेटौँडामा ‘प्लास्टिक बोतल देउ, फलफूलको बिरुवा लेउ’ अभियान

हेटौँडा । प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण र वातावरण संरक्षणको सन्देश दिने उद्देश्यले हेटौँडामा ‘प्लास्टिकको बोतल देउ, फलफूलको बिरुवा लेउ’ अभियान सुरु गरिएको छ। टोल विकास संस्था नगर समन्वय समितिले सञ्चालन गरेको यस अभियानअन्तर्गत प्लास्टिकका २० वटा बोतल बुझाउनेलाई एउटा फलफूलको बिरुवा प्रदान गरिएको छ।

यस अभियानअन्तर्गत हेटौँडा–११ का बासिन्दाहरूले संकलन गरेका प्लास्टिकका बोतलहरू बुझाएर फलफूलका बिरुवा प्राप्त गरेका छन्। टोल विकास संस्था नगर समन्वय समितिको आयोजना र हेटौँडा उपमहानगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीले भन्नुभयो, “प्लास्टिकका बोतलहरूलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ भन्ने सन्देश दिन र सहरलाई सफा राख्न हामीले यो अभियान थालेका हौँ। खेर गइरहेका बोतल संकलन गर्दा वातावरण स्वच्छ हुन्छ।” अध्यक्ष अधिकारीले यो अभियानलाई हेटौँडाका १९ वटै वडामा विस्तार गर्ने योजना रहेको बताउनुभयो।

वडा समन्वय समिति हेटौँडा–११ को व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा हेटौँडा–११ का वडा सदस्यहरू सञ्जय बिडारी, गोपिनी सापकोटा र गीता सुनारलगायतको आतिथ्यता रहेको थियो।

प्लास्टिकका बोतल संकलन गरी फलफूलका बिरुवा वितरण गर्ने यस प्रकारको रचनात्मक कार्यले वातावरणीय सचेतना जगाउनुका साथै हरियाली प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.