हेटौँडामा ‘पारिजात विशेष कार्यक्रम’: साहित्यकार पारिजातको व्यक्तित्व र कृतित्वबारे चर्चा

हेटौँडा । हेटौँडा–१० स्थित दर्शन पार्टी प्यालेसमा ‘पारिजात विशेष कार्यक्रम’ सम्पन्न भएको छ। आञ्चल साहित्य कलापुञ्ज मकवानपुरद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली साहित्यकी विशिष्ट साधक पारिजातको व्यक्तित्व, योगदान र उहाँका कृतित्वबारे गहन बहस गरिएको छ।

कार्यक्रममा पारिजात स्मृति केन्द्रका डा. बिन्दु शर्मा, डा. अमृता रेग्मी तथा समालोचक एवं अनुसन्धानकर्ता डिल्लीराम पोख्रेलले पारिजातको जीवनशैली, उहाँको वैचारिक अडान र नेपाली साहित्यमा उहाँले पुर्‍याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो। साहित्यकार विश्वनाथ सञ्जेलले सहजीकरण गर्नुभएको उक्त बहसमा वक्ताहरूले पारिजातका रचनाले समाज र विशेषगरी महिलाको चेतनामा पारेको प्रभावबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा विभिन्न साहित्यकारहरूले आफ्ना सिर्जनाहरू वाचन गरेका थिए। साथै, विद्यालय स्तरीय पारिजात विषयक खुला निबन्ध प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रम संयोजक सरिता दाहालका अनुसार, नयाँ पुस्तामाझ पारिजातको साहित्यलाई जीवित राख्न यो कार्यक्रम आयोजना गरिएको हो।

आञ्चल साहित्य कलापुञ्ज मकवानपुरकी अध्यक्ष निरा शर्माको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री एकालाल श्रेष्ठ, हेटौँडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे तामाङ, हेटौँडा–११ की वडाध्यक्ष जुना दाहाल, आञ्चल साहित्य कलापुञ्जकी संस्थापक अध्यक्ष मुना अर्याललगायतको उपस्थिति रहेको थियो। हेटौँडा–१० नम्बर वडा कार्यालयको संवर्धनमा सम्पन्न उक्त कार्यक्रमले साहित्यप्रेमीहरूलाई एकै ठाउँमा ल्याएर पारिजातको स्मृतिमा सम्मान प्रकट गरेको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.