हेटौंडा । हेटौंडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले बागमती प्रदेश सरकारले सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा निजी कलेज र निजी शैक्षिक संस्थासँग सम्बन्धित कार्यक्रमका लागि बजेट विनियोजन गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्ववियुद्वारा जारी प्रेस विज्ञप्तिमा राज्यको मुख्य दायित्व सबै नागरिकलाई गुणस्तरीय, सर्वसुलभ र समान पहुँचयुक्त शिक्षा उपलब्ध गराउनु रहेको उल्लेख गरिएको छ। सार्वजनिक शैक्षिक संस्थाहरू स्रोत, पूर्वाधार तथा जनशक्तिको अभाव झेलिरहेको अवस्थामा निजी शैक्षिक संस्थाका कार्यक्रमलाई प्रत्यक्ष रूपमा बजेट विनियोजन गर्नु सार्वजनिक शिक्षाप्रतिको राज्यको जिम्मेवारी र प्रतिबद्धताविपरीत भएको स्ववियुको भनाइ छ।
विज्ञप्तिमा सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि, सामुदायिक विद्यालय तथा सार्वजनिक क्याम्पसहरूको सुदृढीकरणमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ। यस्तो अवस्थामा निजी कलेजलाई लक्षित गरी बजेट छुट्याउने निर्णयले शिक्षा क्षेत्रमा असमानता बढाउने तथा सार्वजनिक शिक्षाप्रति राज्यको प्रतिबद्धतामाथि प्रश्न उठाउने उल्लेख गरिएको छ।
स्ववियुले बागमती प्रदेश सरकारलाई निजी कलेजका कार्यक्रमका लागि विनियोजन गरिएको बजेट तत्काल पुनरावलोकन गरी संशोधन गर्न आग्रह गरेको छ। साथै उक्त रकम सार्वजनिक शिक्षाको विकास, सुधार तथा सुदृढीकरणमा खर्च हुने व्यवस्था मिलाउन माग गरिएको छ।
हेटौंडा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका कार्यवाहक अध्यक्ष भरतमोहन देवकोटा द्वारा हस्ताक्षरित उक्त विज्ञप्ति २०८३ असार ३ गते जारी गरिएको हो।



































































