काठमाडौँ । नेकपा (एमाले) ले संविधान संशोधनका लागि गठन गरेको विशेष कार्यदलले आफ्नो पहिलो बैठक सम्पन्न गर्दै संविधान परिमार्जनको प्रक्रियालाई तीव्रता दिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलका संयोजक तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले संविधानलाई थप सुदृढ र प्रभावकारी बनाउन बृहत् संवाद र सुझाव संकलनको मार्गचित्र कोरेको छ।
पार्टी केन्द्रीय सचिवालयको गत जेठ महिनाको निर्णयबमोजिम गठित यो कार्यदलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीको सबलीकरणलाई मुख्य प्राथमिकतामा राखेको छ। बैठकले संविधान संशोधनको प्रस्ताव तयार पार्नका लागि राजनीतिक र सामाजिक जीवनका विभिन्न क्षेत्रबाट व्यापक सुझाव संकलन गर्ने निर्णय गरेको छ।
संविधान कार्यान्वयनको हालसम्मको अनुभव, त्यसका सबल र कमजोर पक्ष तथा देखिएका जटिलताहरूको गहन समीक्षा गर्दै संशोधनको प्रस्ताव तयार गर्न कार्यदलले अग्निप्रसाद खरेलको संयोजकत्वमा एक उपसमिति गठन गरेको छ। उक्त उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहनुभएको छ। उपसमितिलाई सुझाव संकलनको विस्तृत कार्ययोजना र कार्यतालिका निर्माण गरी आगामी बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी दिइएको छ।
बैठकले संविधान संशोधनको विषयलाई राष्ट्रिय सहमतिको मुद्दा बनाउन अन्य राजनीतिक दलहरू र उनीहरूले गठन गरेका समान प्रकृतिका कार्यदलहरूसँग निरन्तर संवाद, छलफल तथा अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ। कार्यदलको सुचारु सञ्चालनका लागि महेशकुमार बर्तौलालाई सदस्य सचिवको जिम्मेवारी प्रदान गरिएको छ। एमालेको यो कदमले संविधानको कार्यान्वयनमा देखिएका व्यवहारिक कठिनाइहरूलाई चिर्दै थप प्रभावकारी शासन प्रणालीको आधार तयार गर्ने अपेक्षा गरिएको छ।


































































