हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ नम्बर वडा कार्यालयले आफ्नो वडामा रहेका अग्रज व्यक्तित्वहरूलाई सम्मान गरेको छ। वडाले एक कार्यक्रमको आयोजना गरी तत्कालीन पञ्चायतकालदेखिका जनप्रतिनिधिहरूलाई विशेष सम्मान प्रदान गरेको हो।
कार्यक्रममा हेटौँडा–११ का पूर्व प्रधानपञ्च, तत्कालीन जिल्ला विकास समिति (जिविस) सभापति, पूर्व वडाध्यक्ष र पूर्व वडा सदस्यहरूलाई सम्मान गरिएको थियो। यसका साथै, तत्कालीन समयमा सेवा पुर्याउनुभएका दिवङ्गत जनप्रतिनिधिहरूलाई उहाँका परिवारजनमार्फत मरणोपरान्त सम्मान प्रदान गरिएको थियो।

वडाध्यक्ष जुना दाहालको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कुल २५ जना अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। प्रमुख अतिथि नगरप्रमुख लामा र विशेष अतिथि रामेश्वर रानाले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभयो।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै वडाका सहायक सचिव जीवन ढुङ्गेलले समाजका लागि योगदान पुर्याउनुभएका अग्रजहरूलाई हौसला र सम्मान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा तत्कालीन जिविस सभापति रामेश्वर रानाको विशेष उपस्थिति रहेको थियो भने वडा सदस्यहरू गोपिनी सापकोटा, सञ्जय बिडारी र गीता सुनारलगायतको आतिथ्यता थियो। अग्रजहरूको योगदानको कदर गर्दै वडा कार्यालयले थालेको यो सम्मान कार्यक्रमको स्थानीय स्तरमा प्रशंसा गरिएको छ।


































































