हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ मा वडा बाल सञ्जालको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको छ। वडा कार्यालयको प्रायोजनमा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन खेलमा शहीद स्मारक टोल विकास संस्थाले सडक बाल सञ्जाललाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।
प्रतियोगिताको पहिलो खेलमा शहीद स्मारक टोल विकास संस्थाले सडक बाल सञ्जालविरुद्ध ६–० गोलको फराकिलो अन्तरले जित हात पारेको हो।

वडा बाल सञ्जालकी अध्यक्ष आञ्चल सुवेदीको सभाध्यक्षता तथा हेटौँडा–११ की वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा वडा सदस्यहरू गोपिनी सापकोटा, सञ्जय बिडारी र गीता सुनारलगायतको उपस्थिति रहेको थियो।

भारतीय सेनाका अवकाशप्राप्त क्याप्टेन डोल्सी घलेको संयोजकत्वमा सञ्चालित यस प्रतियोगितामा कुल १२ वटा टिम सहभागी छन्। हेटौँडा–११ स्थित सरस्वती मितेरी चौरमा सञ्चालन भइरहेको यो प्रतियोगिता यही असार ७ गतेसम्म जारी रहनेछ।

युवा तथा बालबालिकाहरूमा खेलकुदको विकास र भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताले स्थानीय खेलकुद क्षेत्रलाई थप चलायमान बनाउने विश्वास लिइएको छ।


































































