अन्तर्राष्ट्रिय योग दिवसमा मकवानपुरमा सप्ताहव्यापी कार्यक्रम

हेटौँडा – १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर पतञ्जलि योग समिति मकवानपुरले ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रम विभिन्न रचनात्मक गतिविधिहरूसहित सम्पन्न भएको छ। समितिले योग साधना, स्वास्थ्य शिक्षा, सामाजिक सेवा, संस्कार शिक्षा तथा रक्तदानजस्ता महत्त्वपूर्ण कार्यक्रमहरू आयोजना गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

कार्यक्रमको पहिलो दिन विभिन्न योग साधना केन्द्रहरूमा सरसफाइ अभियान चलाइएको थियो भने दोस्रो दिन हेटौँडा–१० स्थित श्री संस्कृत वेद विद्यालयलाई शैक्षिक विकासका लागि २० हजार १०० रुपैयाँ सहयोग गर्नुका साथै विद्यालय परिसरमा सरसफाइ गरिएको थियो। तेस्रो दिन प्रगति माध्यमिक विद्यालय तथा लक्ष्मी आधारभूत विद्यालयमा विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली, सन्तुलित आहार र योगको महत्वबारे प्रशिक्षण दिइएको थियो भने चौथो दिन पशुपति योग केन्द्रमा महिलाहरूको स्वास्थ्य समस्याको रोकथाम तथा व्यवस्थापनमा योगको भूमिकाबारे विशेष अभ्यास गराइएको थियो।

सप्ताहव्यापी कार्यक्रमको पाँचौँ दिन तासिर इङ्गलिस बोर्डिङ स्कुलमा विद्यार्थी, शिक्षक र अभिभावकहरूको सहभागितामा सामूहिक कमन प्रोटोकल योग अभ्यास सम्पन्न भयो। छैटौँ दिन अन्तर साधना केन्द्रमा बाल संस्कार सेवा तथा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरियो। सो प्रतियोगितामा जेष्ठ नागरिक योग साधना केन्द्र हेटौँडा–७ प्रथम, श्रमिक योग साधना केन्द्र हेटौँडा–४ द्वितीय र किरणचोक योग साधना केन्द्र हेटौँडा–७ तृतीय भएका छन्। सोही अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघको सहकार्यमा ४५ जना महिलाको पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) परीक्षणसमेत गरिएको थियो।

कार्यक्रमको अन्तिम दिन असार ७ गते हेटौँडा–२ स्थित एभोकाडो परिसरमा बिहान ५ बजेदेखि सामूहिक योग अभ्यास र रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। पतञ्जलि योग समिति नेपालका केन्द्रीय सहप्रभारी ललित शंकर योगीको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा पतञ्जलि योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले योगलाई केवल शारीरिक व्यायामका रूपमा मात्र नभई स्वस्थ, अनुशासित र सकारात्मक जीवन निर्माणको आधारका रूपमा व्याख्या गर्नुभयो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.