हेटौँडा । नेपाल रेडक्रस सोसाइटी हेटौँडा–११, नवलपुर उपशाखाको आयोजनामा सम्पन्न खुला रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्।
हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालय अगाडिको चौतारामा आयोजित उक्त कार्यक्रममा हेटौँडा–११ का वडा सदस्य सञ्जय बिडारीले समेत रक्तदान गर्नुभएको थियो। हेटौँडा उपमहानगरपालिका–११ वडा कार्यालयको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक अञ्जनप्रसाद पौडेलले जानकारी दिनुभयो।

नेपाल रेडक्रस सोसाइटी नवलपुर उपशाखाकी कार्यबाहक सभापति सुष्माकुमारी बडालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा–११ की वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा सदस्यहरू गोपिनी सापकोटा र गीता सुनारलगायतको उपस्थिति थियो।
मानव जीवन बचाउने पवित्र उद्देश्यका साथ आयोजित उक्त रक्तदान कार्यक्रमले स्थानीय स्तरमा रगतको अभाव टार्न मद्दत पुग्ने विश्वास लिइएको छ।



































































