बागमतीमा एमालेले सरकार नछोड्ने

हेटौँडा । बागमती प्रदेश सरकारबाट बाहिरिने तयारी गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) तत्कालका लागि आफ्नो निर्णयबाट पछि हटेको छ। बदलिँदो राष्ट्रिय राजनीतिक समीकरण र पार्टीको केन्द्रीय नेतृत्वबाट स्पष्ट निर्देशन नआएसम्म सरकार नछाड्ने निष्कर्ष एमाले बागमती प्रदेश संसदीय दलले निकालेको छ।

केन्द्रीय सत्ता समीकरणमा आएको परिवर्तनसँगै एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने आन्तरिक तयारी गरेको थियो। गत असार ३२ गते बसेको मन्त्रिपरिषद् बैठकपछि मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारीसमेत भएको थियो। संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराइसकेका थिए भने सोमबार मन्त्रीहरूको सामूहिक राजीनामा बुझाइने कार्यक्रम तय गरिएको थियो।

तर, पछिल्लो राजनीतिक घटनाक्रम र केन्द्रीय तहमा जारी छलफलका कारण एमालेले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो। सोमबार बिहान काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले केन्द्रीय नेतृत्वको औपचारिक निर्देशन नआएसम्म सरकारमा यथावत् रहने निष्कर्ष निकालेको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसुदन पौडेलले पार्टीको माथिल्लो निकायबाट हालसम्म सरकार छाड्ने कुनै आधिकारिक निर्देशन नआएको स्पष्ट पार्नुभयो। उहाँले सञ्चारमाध्यममा आएका राजीनामासम्बन्धी समाचारहरू अनुमानमा आधारित मात्र भएको बताउँदै पार्टीको औपचारिक निर्णयअनुसार मात्रै अघि बढ्ने धारणा राख्नुभयो। उहाँले हाल बागमती प्रदेशमा नेपाली कांग्रेससँगको गठबन्धन औपचारिक रूपमा कायमै रहेको उल्लेख गर्नुभयो।

संसदीय दलका नेता थपलियाले पनि बदलिँदो राष्ट्रिय राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै तत्काल कुनै हतारोमा निर्णय नगर्ने सहमति भएको बताउनुभएको छ। उहाँका अनुसार केन्द्रको निर्देशन, अन्य राजनीतिक दलसँग भइरहेको संवाद तथा विकसित राजनीतिक अवस्थाको समग्र मूल्यांकनपछि मात्रै सरकारमा रहने वा बाहिरिनेबारे अन्तिम निर्णय लिइनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.