नारायणी यातायात व्यवसायी संघको अध्यक्षमा सरोजकुमार खनाल निर्विरोध निर्वाचित

हेटौँडा । नारायणी यातायात व्यवसायी संघको ३७ औँ साधारणसभा तथा १६ औँ अधिवेशनबाट सरोजकुमार खनाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। शुक्रबार सम्पन्न अधिवेशनले खनालको नेतृत्वमा १७ जना पदाधिकारी तथा सदस्यहरूलाई निर्विरोध चयन गरेको हो।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु बिडारी, उपाध्यक्षहरूमा शंकर गिरी (चितवन), विनोदकुमार मानन्धर (वीरगञ्ज) र शालिकराम ढकाल (हेटौँडा) निर्वाचित हुनुभएको छ। त्यसैगरी, संघको महासचिवमा राजेश खड्गी निर्विरोध निर्वाचित हुनुभएको छ। संघले बाँकी रहेका काठमाडौँतर्फको उपाध्यक्ष, कोषाध्यक्ष, सह-कोषाध्यक्षसहित १० जना पदाधिकारी र सदस्यहरूको चयन भने शनिबार हुने मतदानमार्फत गरिने जनाएको छ।

अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सवारी चालकहरूले मर्यादा र अनुशासन कायम राख्दै यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी सञ्चालन गर्ने कार्यप्रति शून्य सहनशीलता अपनाउन आग्रह गर्दै उहाँले चालकहरूलाई नियमित सचेतना प्रदान गर्न व्यवसायीहरूलाई सुझाव दिनुभयो। साथै, मुख्यमन्त्री बानियाँले प्रदेश सरकार व्यवसायीको घरदैलोको सरकार भएको बताउँदै आन्दोलनका क्रममा क्षतिग्रस्त सवारीसाधनमा लगाइएका जरिवाना मिनाहा गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले यातायात क्षेत्रका साझा एजेन्डाहरूमा सरकारसँग संवाद गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो। यातायात क्षेत्रलाई मर्यादित बनाउन स्पष्ट कानुनी संरचना आवश्यक रहेको भन्दै उहाँले समस्या समाधानका लागि सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो।

संघका अध्यक्ष हिरालाल श्रेष्ठले आफ्नो मन्तव्यका क्रममा अधिक भारवहनका कारण राजमार्गहरू जीर्ण बनेको भन्दै भारवहन नियम कडाइका साथ कार्यान्वयन गर्न माग गर्नुभयो। उहाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सामानको मूल्य अस्वभाविक रूपमा बढेकोप्रति ध्यानाकर्षण गराउँदै भारतीय सवारीसाधनको निर्वाध प्रवेशले नेपाली यातायात व्यवसायीहरू मारमा परेको गुनासो गर्नुभयो। राष्ट्रिय पूँजी र रोजगारी जोगाउन भारतीय सवारीको प्रवेशलाई निरुत्साहित गर्नुपर्ने उहाँको माग थियो।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, संविधानसभा सदस्य अनन्त पौडेल र बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले पनि यातायात क्षेत्रको विकास र सुधारका विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो। बाँकी पदहरूका लागि शनिबार भुटनदेवी मावि परिसरमा मतदान प्रक्रिया सुरु हुने भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.