हेटौँडा । मकवानपुरको हेटौँडा–११, थानाभर्याङस्थित बाल सुधार गृहमा रहेका बालकहरूका लागि किशोर सचेतना शिक्षा कार्यक्रम सम्पन्न भएको छ। सुधार गृहमा रहेका ८४ जना बालकहरूलाई सकारात्मक सोच र जिम्मेवार नागरिक बन्ने दिशामा प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
इन्सेक बागमती प्रदेश र प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल बागमती प्रदेशको संयुक्त आयोजना तथा सुनौलो शिक्षा नेपालको समन्वयमा बिहीबार उक्त कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बाल सुधार गृहमा रहँदा पनि आफूभित्रको सकारात्मक सोच र आत्मविश्वासलाई जीवित राख्न बालकहरूलाई आग्रह गर्नुभयो। उहाँले विगतका गल्तीबाट पाठ सिकेर नयाँ जीवनको सुरुवात गर्न सकिने भन्दै बालकहरूलाई हौसला प्रदान गर्नुभयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अनुशासन र आपसी सद्भावको महत्त्वमा जोड दिँदै कानुनको दायराभित्र रहेर सही मार्गमा अघि बढ्न सुझाव दिनुभयो। यसैगरी, जिल्ला प्रहरी कार्यालयकै इन्स्पेक्टर कृष्ण दासले साइबर अपराध र सामाजिक सञ्जालको सुरक्षित प्रयोगका बारेमा बालकहरूलाई सचेत गराउनुभयो।
कार्यक्रममा सुनौलो शिक्षा नेपालका अध्यक्ष आशिष दुलालले किशोरावस्थामा हुने शारीरिक, मानसिक तथा सामाजिक परिवर्तनका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले “हामी फेरि पलाउन सक्छौँ” भन्ने सन्देशमार्फत बालकहरूमा सकारात्मक सोचको विकास गराउनुभयो। साथै, गैरसरकारी महासंघ बागमती प्रदेशका अध्यक्ष एवं सञ्जालका सल्लाहकार कमलकुमार विश्वकर्माले जीवनमा सही निर्णय लिने र जिम्मेवारीबोध गर्ने विषयमा प्रेरणामूलक मन्तव्य राख्नुभयो।
गैरसरकारी महासंघ बागमती प्रदेशका अध्यक्ष कमलकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल सुधार गृहका कार्यालय प्रमुख वासुदेव यादव, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्जालका सदस्यहरू र वार्डेन श्रवणकुमार पुडासैनीलगायतको उपस्थिति रहेको थियो। सुधार गृहमा रहेका बालकहरूको व्यक्तित्व विकास र भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले व्यक्त गरेका छन्।





























