नारायणी यातायात व्यवसायी संघको अध्यक्षमा सरोजकुमार खनालद्वारा उम्मेदवारी घोषणा

हेटौँडा । नारायणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले संघको ३७ औँ साधारणसभा तथा १६ औँ अधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। बिहीबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले सार्वजनिक यातायात क्षेत्रलाई जिम्मेवार, सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री र पारदर्शी बनाउने प्रतिबद्धतासहित उम्मेदवारी सार्वजनिक गर्नुभएको हो।

पत्रकार सम्मेलनमा बोल्दै महासचिव खनालले आफू अध्यक्षमा निर्वाचित भएमा संघलाई संस्थागत रूपमा अझ सुदृढ बनाउने, सुशासन कायम गर्ने र आर्थिक अनुशासन मजबुत बनाउँदै समयअनुकूल प्रविधिमैत्री संस्था निर्माण गर्ने उल्लेख गर्नुभयो। व्यवसायीका कर, बीमा, नवीकरण, बैंकिङ सहजीकरण तथा कानुनी जटिलताका विषयमा सम्बन्धित निकायसँग प्रभावकारी पहल गर्ने बताउँदै उहाँले नयाँ पुस्ताका व्यवसायीलाई नेतृत्व विकासमा अवसर दिने र श्रमिकको क्षमता अभिवृद्धि गर्ने लगायतका योजनाहरू अघि सार्नुभएको छ। संघभित्र पारदर्शिता, जवाफदेहिता, आपसी एकता र पारस्परिक सम्मानको संस्कृतिलाई अझ मजबुत बनाउने उहाँको दृढता छ।

यातायात क्षेत्रका चुनौतीहरू औँल्याउँदै खनालले यो क्षेत्र अहिले सञ्चालन खर्च वृद्धि, अस्वस्थ प्रतिस्पर्धा र नीतिगत अस्थिरता लगायतका समस्याबाट प्रभावित भएको बताउनुभयो। यी चुनौतीको समाधान व्यवसायी, सरकार, नियामक निकाय, श्रमिक र उपभोक्ताबीचको सहकार्यबाट मात्र सम्भव हुने उहाँको भनाइ थियो। सडक सञ्जालको विस्तारसँगै यातायात व्यवसायलाई प्रतिस्पर्धी बनाउन दूरदर्शी नेतृत्व आवश्यक रहेको र रुट परमिट व्यवस्थापनमा तीनै तहका सरकारबीच स्पष्ट अधिकार बाँडफाँट नहुँदा व्यवसायीले दोहोरो प्रक्रिया एवं प्रशासनिक झन्झट व्यहोर्नुपरेको उहाँले गुनासो गर्नुभयो। साथै, सीमावर्ती नाकाबाट प्रवेश गर्ने केही भारतीय मालवाहक ट्रकको ओभरलोड सञ्चालनले गर्दा नेपालको राजमार्ग चाँडै जीर्ण बन्ने गरेको दाबी पनि उहाँले गर्नुभयो।

शुक्रबार हेटौँडा–१ स्थित हिमालयन दरबारमा आयोजना हुने संघको साधारणसभा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न हुँदैछ। संघका अध्यक्ष हिरालाल श्रेष्ठका अनुसार यस अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। विविध कानुनी बाधा–अड्चन एवम् संघको दर्ता प्रमाणपत्र नवीकरण हुन नसकिरहेको कारणले गर्दा यसपटकको अधिवेशन तोकिएको समयभन्दा केही ढिलो हुन पुगेको संघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.