काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौलाले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट राष्ट्रिय मानवअधिकार आयोगमा औपचारिक निवेदन दर्ता गर्नुभएको छ। असार २५ गते आयोगको कार्यालय हरिहर भवन, पुल्चोक पुगेर बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई उक्त निवेदन बुझाउनुभएको हो।
निवेदनमा २०८२ साल भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा आयोगको निर्णय नं. १७७ अन्तर्गत गरिएको सिफारिस संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय मानवअधिकारको मान्यताविपरीत तथा पूर्वाग्रहपूर्ण रहेको उल्लेख गर्दै सो सिफारिस सच्याउन माग गरिएको छ।
साथै, निवेदनमार्फत लिली थापाको नेतृत्वमा गठित समितिले आयोगसमक्ष पेस गरेको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपिसमेत माग गरिएको छ। बर्तौलाले आयोगले उक्त प्रतिवेदनको कुन-कुन अंश स्वीकार गर्यो, कुन अंश हटायो वा थप गर्यो र त्यस्तो थपघट गर्नुपर्ने आधार तथा कारण के थिए भन्ने बारेका सम्पूर्ण कागजातहरू उपलब्ध गराउन आग्रह गर्नुभएको छ।
यसका अतिरिक्त, उक्त घटनाको सम्बन्धमा आयोगबाट भएका अन्य थप छानबिन, अनुसन्धान वा अध्ययनसँग सम्बन्धित प्रतिवेदन तथा कागजातहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराउनसमेत बर्तौलाले माग गर्नुभएको छ। यस विषयमा थप स्पष्टताका लागि बर्तौलाले निवेदनमार्फत आयोगको ध्यानाकर्षण गराउनुभएको छ।





























