हेटौँडामा २१२ औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न

हेटौँडा । नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा हेटौँडास्थित नवोदय शिशु सदन माध्यमिक विद्यालयमा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका साथ विशेष समारोह आयोजना गरिएको छ। नवोदय साहित्यिक बगैँचा बाल क्लबको आयोजनामा भएको यस कार्यक्रमले विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य र सिर्जनशीलताको विकास गर्ने उद्देश्य राखेको थियो।

समारोहमा अन्तरविद्यालय स्थलगत कविता प्रतियोगिता, भानुभक्त आचार्य विशेष बहस, साहित्यिक नाटक प्रदर्शनी, गायन तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले आदिकवि आचार्यको व्यक्तित्व, कृतित्व, नेपाली भाषाको विकासमा उहाँको योगदान र वर्तमान समाजमा साहित्यको महत्त्वबारे विचार व्यक्त गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको अन्तरविद्यालय कविता प्रतियोगितामा हेटौँडाका विभिन्न आठ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। देशप्रेम, प्रकृति, मानवता र सामाजिक समस्याजस्ता विषयमा आधारित रहेर विद्यार्थीहरूले आफ्ना मौलिक कविताहरू प्रस्तुत गरेका थिए। प्रतियोगितामा अमर माध्यमिक विद्यालयकी रोशिका भट्टराई प्रथम, जेम्स बोर्डिङ स्कुलकी अङ्किता सुवेदी द्वितीय र कमाने एकेडेमीकी नितिका भट्टराई तृतीय स्थान हासिल गर्न सफल भए। उत्कृष्ट प्रतियोगीहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो।

साहित्यकार केशव समर्पण र विद्यालयका मावि संयोजक सिएम रिमालले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। निर्णायक समर्पणले विद्यार्थीहरूको साहित्यप्रतिको आकर्षणले नेपाली भाषाको भविष्य उज्ज्वल रहेको चर्चा गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तामा सिर्जनशीलता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी, “आजको पुस्ताका लागि भानुभक्तको सान्दर्भिकता” र “नेपाली भाषाको संरक्षणमा युवाको भूमिका” विषयमा आयोजित बहस र नाटक प्रदर्शनीले आदिकवि आचार्यको जीवन तथा साहित्यिक योगदानलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए। नवोदय साहित्यिक बगैँचा बाल क्लबकी अध्यक्ष समृद्धि सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमले विद्यार्थीहरूलाई साहित्यिक र बौद्धिक क्रियाकलापमा थप सक्रिय बनाउने विश्वास विद्यालयले लिएको छ। विद्यालयले आगामी दिनहरूमा पनि विद्यार्थीहरूको अध्ययन, सिर्जना र नेतृत्व विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.