हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका–६, राउते दुम्सि खर्कमा खानेपानीका तीनवटा ट्याङ्की निर्माण सम्पन्न भएका छन्। राउते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित ए–बी–सी योजनाअन्तर्गत निर्माण गरिएका ती ट्याङ्कीहरूको आज शिलाकन्या विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
बागमती प्रदेश सरकारको पञ्चवर्षीय योजनाअन्तर्गत आर्थिक वर्ष २०७९ मा सुरु भएको सो आयोजना चार वर्षपछि सम्पन्न भएको हो। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं. १, मकवानपुरको आर्थिक सहयोग तथा समन्वयमा कार्यान्वयन गरिएको यो आयोजनाले स्थानीय बासिन्दालाई स्वच्छ र सुरक्षित खानेपानीमा सहज पहुँच पुर्याउने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मुक्तान प्रमुख अतिथि र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान विशेष अतिथि रहनुभएको थियो। सजेश घलानको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, अन्य जनप्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो।





























