हेटौँडा । दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित चुरियामाई सुरुङको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी ‘चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समिति’लाई हस्तान्तरण गरिएको छ। हेटौँडा उपमहानगरपालिकाले उक्त समितिसँग औपचारिक सम्झौता गर्दै सुरुङको व्यवस्थापनको जिम्मा सुम्पेको हो।
हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। लामो समयसम्म बन्द रहेको यस सुरुङको मर्मतकार्य बागमती प्रदेश सरकारले सम्पन्न गरी यसअघि नै हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण गरिएको यो सुरुङ दक्षिण एसियाकै पहिलो मानिन्छ। वि.सं. १९७२ (सन् १९१५) मा निर्माण कार्य सुरु भई वि.सं. १९७४ (सन् १९१७) मा सम्पन्न भएको यो सुरुङ निर्माणको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजंग थापाले गर्नुभएको थियो। करिब दुई वर्षको अवधिमा निर्माण गरिएको यो सुरुङको लम्बाइ करिब ५०० फिट (झण्डै १५२ मिटर) छ भने चौडाइ ४.५ मिटर र उचाइ ६ मिटर रहेको छ।
ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको यस सुरुङको संरक्षण र व्यवस्थापनले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।





























