त्रिभुवन मा.वि.का विद्यार्थीद्वारा पोषणयुक्त खाद्यान्नसम्बन्धी प्रदर्शनी

हेटौँडा । हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयका कक्षा ८ (बी) का विद्यार्थीहरूले पोषणयुक्त खाद्यान्नका बारेमा सचेतनामूलक प्रदर्शनी आयोजना गरेका छन्। विद्यालय परिसरमै आयोजना गरिएको यो दोस्रो प्रदर्शनी भएको कार्यक्रम संयोजक तथा विद्यालय नर्स बिकिसा बानियाँले जानकारी दिनुभयो।

विद्यालय नर्स बानियाँ र अतिरिक्त क्रियाकलाप संयोजक शिक्षिका संगीता बजगाइको सक्रियतामा सम्पन्न उक्त प्रदर्शनीको शिशु कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरूले अवलोकन गरेका थिए। विद्यार्थीहरूलाई सानै उमेरदेखि जङ्क फूड र पोषणयुक्त खाद्यान्नबीचको भिन्नता बुझाउन सके उनीहरूको स्वास्थ्य सुधारमा टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौलाको धारणा रहेको छ। सोही उद्देश्यअनुरूप यो कार्यक्रम आयोजना गरिएको हो।

प्रदर्शनीमा विद्यार्थीहरूले पकाइएको दाल, भात र तरकारीका साथै काँचो आलु, टमाटर, चना, मस्याङ, पाकेको आँपलगायतका ताजा खाद्यवस्तुहरू राखेका थिए। त्यसका अतिरिक्त तुलनात्मक अध्ययनका लागि बिस्कुट, चाउचाउजस्ता जङ्क फूडसमेत प्रदर्शनमा राखिएको थियो। विद्यार्थीहरूले स्वास्थ्यसम्बन्धी जानकारीमूलक पर्चाहरूको समेत व्यवस्था गरेका थिए। उक्त प्रदर्शनीमा वडासदस्य सञ्जय बिडारी, प्रधानाध्यापक, सहायक प्रधानाध्यापकहरू तथा शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.