हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको एक विवादास्पद अभिव्यक्तिको विरोध गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ। नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको नेतृत्वमा गएको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई उक्त ज्ञापन पत्र हस्तान्तरण गरेको हो।
ज्ञापन पत्रमा ऐतिहासिक जनआन्दोलन र बलिदानबाट सामन्ती प्रथाको अन्त्य भएको स्मरण गराउँदै सरकार जनविरोधी क्रियाकलापमा सक्रिय हुँदा जनताको विद्रोहले शासकहरूको अन्त्य गर्ने इतिहास रहेको उल्लेख गरिएको छ। विशेषगरी संसदमा सांसदहरूले सोधेका प्रश्नहरूको उत्तर दिने क्रममा प्रधानमन्त्रीले “नेपालले पनि भारतीय भूमि मिचेको छ” भनी दिएको अभिव्यक्तिप्रति कांग्रेस मकवानपुरले तीव्र आक्रोश र आपत्ति जनाएको छ। यस्तो अभिव्यक्तिले समग्र नेपालीहरूको शिर झुकाएको ठहर गर्दै यसको विरोध सडक र जनताको तहसम्म पुर्याउनुपर्ने धारणा राखिएको छ।
विपक्षी दलका सांसदहरूले यस विषयमा विगत दुई महिनादेखि निरन्तर विरोध गर्दै आएको स्मरण गराउँदै, यदि प्रधानमन्त्रीले यस विषयमा जनतासमक्ष स्पष्ट पार्दै माफी नमागेमा उक्त अभिव्यक्ति तत्काल संसदको रेकर्डबाट हटाउन माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले उक्त पत्र यथाशीघ्र सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।



























