नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन

हेटौँडा । नेपालकै पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ को एक विशेष कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको छ।

सोमवार आयोजित उद्घाटन समारोहमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको, नेपालका लागि जापानी राजदूत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रूपमा रिबन काटेर सुरुङमार्गको उद्घाटन गर्नुभएको हो। सो अवसरमा ब्राह्मणहरूले स्वस्तिवाचनसहित पूजापाठसमेत गरेका थिए। कार्यक्रममा मन्त्री लम्सालले नेपालतर्फको शिलालेखको अनावरण गर्नुभएको थियो भने जापानी राजदूत र जाइकाका अध्यक्षबाट संयुक्त रूपमा जापानतर्फको शिलालेखको अनावरण गरिएको थियो। उद्घाटनलगत्तै मन्त्री लम्सालसहितको टोलीले सुरुङमार्गको यात्रासमेत गरेको छ।

जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न यस आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ। मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहे पनि सुरुङभित्रको निकास मार्ग र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाइ करिब ५.५ किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले वि.सं. २०७६ देखि यसको निर्माण कार्य सुरु गरेको थियो। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलामा टुङ्गिने यस आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङमार्ग रहेका छन्।

सुरुङमार्ग सञ्चालनको सुरुवाती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र प्रवेश दिइने र यसलाई चरणबद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइने सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनुभएको छ। परीक्षणको क्रममा कुनै पनि शुल्क लिइने छैन भने परीक्षण अवधि सकिएपछि सवारीसाधनको प्रकारअनुसार शुल्क निर्धारण गरिएको छ। जसअनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ, मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तथा बस र भारी ट्रकले काठमाडौँ आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। सुरुङमार्गमा मोटरसाइकल, साइकल लगायतका दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीसाधन, पैदलयात्री तथा प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारीसाधनहरूलाई भने गुड्न पूर्णरूपमा निषेध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.