बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद्को कार्यविभाजन

हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा पुनर्गठन तथा कार्यविभाजन गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठित मन्त्रिपरिषद्मा हेरफेर गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखसमक्ष नयाँ कार्यविभाजनको औपचारिक सिफारिस गरेका हुन्।

बुधवार सार्वजनिक गरिएको सिफारिसअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी सम्हाल्ने छन्। यसैगरी, मन्त्रिपरिषद्का अन्य मन्त्रीहरूको पनि मन्त्रालयगत जिम्मेवारी हेरफेर गरिएको छ।

नयाँ कार्यविभाजनअनुसार शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र विनु रायमाझी पौडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको मन्त्रीको रूपमा जिम्मेवारी प्रदान गरिएको छ।

प्रदेश सरकारको मन्त्रिपरिषद्बाट हुने कार्यसम्पादनलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउने उद्देश्यले मन्त्रालयहरूको कार्यविभाजन गरिएको मुख्यमन्त्री बानियाँले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.