हेटौँडा । हेटौँडा–१० स्थित नारायणी कलेज तथा तुलसी मेहर मेमोरियल सेकेन्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम (Orientation Program) सम्पन्न गरेको छ।
कलेजका प्रिन्सिपल टीकाप्रसाद सापकोटाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका कार्यालय प्रमुख बद्री पाठकको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाठकले विद्यार्थीहरूलाई आफ्नो अध्ययन यात्रामा अनुशासित र लगनशील बन्न आग्रह गर्नुभयो।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बद्रीनाथ शर्मा, क्याम्पस प्रमुख तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ र क्याम्पस निर्देशक कमल नेपालले शुभकामना मन्तव्य राख्नुभएको थियो। उहाँहरूले कलेजको शैक्षिक वातावरण, अनुशासन र विद्यार्थीले प्राप्त गर्ने अवसरहरूका बारेमा प्रकाश पार्नुभएको थियो।

अभिमुखीकरण कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले सांगीतिक प्रस्तुति र नृत्यमार्फत भर्खरै भर्ना भएका कक्षा ११ का विद्यार्थीहरूलाई न्यानो स्वागत गरेका थिए। यसका साथै, जादुगर बलराम सरकारले जादु प्रदर्शन गरी कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए।

कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजको वातावरणसँग घुलमिल हुन र आफ्नो शैक्षिक लक्ष्य निर्धारण गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।


































































