हेटौँडा । नेपाली भाषा शिक्षक समिति मकवानपुरको आयोजनामा मकवानपुरका चर्चित कवि पुरुषोत्तम आचार्यको ‘साङ्गीतिक एकल कविता वाचन’ कार्यक्रम सम्पन्न भएको छ। नेपाली भाषा शिक्षक समितिको अक्षयकोष स्थापना तथा सहयोगार्थ हेटौँडामा आयोजित उक्त कार्यक्रममा कवि आचार्यले आफ्ना सशक्त सिर्जनाहरू प्रस्तुत गर्नुभयो।
कार्यक्रममा कवि आचार्यले ‘हर्नामाडी’ शीर्षकको कविताबाट वाचनको सुरुआत गर्नुभएको थियो। उहाँले ‘वृद्धावस्था’, ‘पछि’, ‘खतरनाक मान्छेहरू’, ‘मानसिंह विश्वकर्माको घोषणा’, ‘तिम्रो नाममा’, ‘वर्षा’, ‘चरा’, ‘बाँसुरी’, ‘तुफान हुरी चल्दछ’ र ‘आह्वान’ लगायतका कविताहरू वाचन गर्नुभयो। साथै, उहाँले एक गजल पनि गायन गरी दर्शकहरूलाई मन्त्रमुग्ध पार्नुभयो। कवि आचार्यको वाचनमा पूर्णविक्रम अधिकारी, प्रलय चौलागाईं र किशोर श्रेष्ठले वाद्यवादनमार्फत साथ दिनुभएको थियो।

कवि आचार्यले कार्यक्रमबाट संकलित सम्पूर्ण रकम नेपाली भाषा शिक्षक अक्षयकोषका लागि हस्तान्तरण गर्नुभयो। समितिका अध्यक्ष ज्योति न्यौपानेले अक्षयकोषको उद्देश्य र कविको योगदानका बारेमा जानकारी दिँदै सहयोगका लागि आभार व्यक्त गर्नुभयो।
नेपाली भाषा शिक्षक समिति मकवानपुरका अध्यक्ष ज्योति न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार आर.सी. रिजाल, डा. निमेष निखिल, रमेशमोहन अधिकारीलगायत साहित्यप्रेमी र शिक्षकहरूको उपस्थिति थियो। साङ्गीतिक परिवेशमा गरिएको कविता वाचनको यो नौलो प्रयोगले मकवानपुरको साहित्यिक माहोललाई थप जीवन्त बनाएको छ।





























