राजनीतिको कालिदास र धुर्त पण्डितहरु

साहित्यमा रुची हुने जो कोहीले संस्कृत भाषाका महाकवि कालिदासको नाम सुनेकै हुनु पर्छ । उनको सुन्दर तथा विद्वतापुर्ण रचनाले जति महत्व र परिचर्चा पाउँछ । जीवनसँग जेलिएका उनका कथाले पनि त्यतिकै चर्चा र महत्व बटुल्छ । यूवा अवस्थाको मुर्खतापुर्ण हर्कत र उनको नियतिमा आएको अचानक परिवर्तनका कथा पढ्दा जो कोहीलाई हाँसो थाम्न मुश्किल पर्छ ।

कालिदासको प्रारम्भिक जीवन मुर्खतापुर्ण हर्कत गर्दै उज्जैन राज्यको एउटा गाउँमा वितेको थियो । तर त्यही हर्कतले उनका जीवनमा ठुलो चमत्कार ल्याइदिएको थियो । मुर्ख भए पनि उनी एउटा विद्वत राजकुमारीको पति हुन समर्थ भएका थिए । आफूलाई सास्त्रार्थमा टक्कर दिन सक्ने विद्वान मानिससँग मात्रै विहे गर्ने राजकुमारीले प्रतिज्ञा गरेकी थिइन । तर कसैले पनि राजकुमारीलाई टक्कर दिन सकेका थिएनन् । पण्डितहरु पनि पटक पटक पराजित भएका थिए । राजकुमारीको विहे एउटा महामुर्ख मानिससँग गराएर पण्डितहरु पराजयको पिडावाट मनलाई शान्त गराउन चाहन्थे । त्यसैले महाविद्वान हुन् भन्दै उनीहरुले मुर्ख कालिदासलाई सास्त्रार्थ गर्न दरवारमा ल्याएका थिए । मुर्खता सुरुमै प्रकटित होला भन्ने आसङकामा उनीहरुले कालिदासलाई बोल्न दिएनन । साङकेतिक भाषामा कुरा गर्न लगाए । कथित मौनव्रत्ती मुर्ख कालिदासको सङकेतलाई मनगढन्ते अर्थ दिएर पण्डितहरुले सास्त्रार्थमा राजकुमारीलाई हराइदिए । विवाहयोग्य जीवनको अन्तिम किनारमा पुग्नै लागेकी राजकुमारी अज्ञानताबस एउटा मुर्ख मानिससँगै विवाहित हुन पुगिन । यस प्रकार मुर्ख कालिदासलाई अधि सारेर धुर्त पण्डितहरुले राजकुमारीलाई पराजयका नमिठो स्वाद चखाउने आफ्नो कुटिल इच्छा पुरा गरेका थिए ।

उपरोक्त कथा साहित्यका कालिादासको हो । साहित्यका कालिदास कालीका भक्त थिए । कालीका कृपाले गर्दा नै महामुर्ख कालिदास पछि महाविद्वान बने भन्ने विश्वास गरिन्छ । अहिले राजनीतिमा पनि कालिदासको उदय भएको छ । खरानिको धुलो सँगै उडेर आएको वर्तमान कालिदास कालो पहिरनको भक्त छ । पहिरन जस्तो भए पनि फरक पर्दैन तर काला मन भएका गोरा मानिसको छायाँ मनभित्र पर्यो भने राजनीतिलाई मात्र होइन देशलाई पनि कालो सुरुङ्गभित्र धकेल्छ । सचेतनापुर्वक खवरदारी गर्यो भने मुड्की उठ्छ ।
वोलेपछि कुरा खुस्किन्छ-त्यसैले विद्वानहरु सितिमिति बोल्दैनन । किनकि उनीहरुको जीवनसँग पनि लुकाउनै पर्ने केही न केही अप्रिय यथार्थहरु जोडिएको हुन्छन् । बोलेपछि त्यसको र्याप खुस्किन्छ । यथार्थ उदाङ्गिन्छ । उसले नबोले पनि हुन्छ । त्यसैले सकेसम्म उ नबोल्न खोज्छ । किनकि उसको वरिपरि पण्डितहरुको ठुलै लर्को छ । जसले उसको मौनताको अर्थ जबरजस्ति लगाइदिन्छ । उसको सङ्केतको मनगढन्ते अर्थ लगाइदिएर उसलाई पानी माथिको ओभानो वनाइदिन्छ । पण्डितहरु आफ्नो नाक काटेर उसको कहाँ राख्ने हेरिरहेका हुन्छन् । प्वाल देख्यो कि टालिहाल्छन्।केही समयसम्म गन्ध रोकिन्छ।नत्र मुड्की र लात्ती उठ्छ ।
अहिलेको कालिदास कुनै कोठीमा काला मनका कोही न कोही सँग बगालिएको हुनुपर्छ । त्यसैले उसको स्नायुतन्त्रले अबैध बच्चा वोकेको छ । वच्चा चलमलाउन थालेपछि उसले बिच सडकमा प्यान्ट खोल्छ । कसैले हेर्दैन । किनकि त्यहाँ कट्टु हुन्छ । त्यसपछि उसले कट्टु खोल्छ । केहीले मात्रै हेर्छन् । किनकि त्यहाँ प्यान्टि हुन्छ । उसको मनोबल बढ्दै जान्छ । त्यसपछि उसले जब प्यान्टि नै खोल्छ । तब उसलाई भन्दा देख्नेलाई लाज हुन्छ । देख्नेहरु भाग्छन् । त्यसै बेला कुतर्कका कछाड बनेर धेरै अँजुलीहरु उसको लाज छोप्न पछाडि दौडिन्छन् । उ ढुक्क हुन्छ । किनकि उसलाई आफु नाङ्गिएको पत्तो हुदैन । अरुको कुरा सुन्दैन ।

स्कुले बालबालिकाको टिफिन पाक्नु अघिनै मकै यज्ञको अग्नीबाट जलिरहेका चुलाहरुमाथि हृदयहिन डोजर एक्कासी चलेपछि मानिस नाङ्गनि थालेको थियो । तर धरैले देखेनन । किनकि आफुलाई नपरे सम्म अरुका लागि पिडा अनुभव गर्ने तहको सम्वेदना धेरै नेपालीमा हुन्न । करवीरले ढाड सेकेपछि कलिला केही आँखाहरु खुल्न थालेका छन् ।लाससँग अस्पालबाट आर्यघाटतिर अश्रुपूर्ण आँखा लिएर निस्किने आफन्तहरुले समेत म्याद सकिएको औषधीको करको भार थाम्नु परेपछि नखुल्ने आँखा होलान र ? दिनभरिको तातो घाममा एकपछि अर्को साङ्ले कामबाट थकित शरीर सुस्ताउनकेा लागि आएको रात करको भारले धिपधिपाउन थालेपछि जलस्रोतका धनी देशमा सवैको आँखा खुल्नु पर्ने हो ।

प्रसंसामात्र सुन्न बानी परेको कान र फेसवुके तारिफ मात्र हेर्न बानी परेको आँखाले दिमाग भित्र अहंकारको विऊ रोप्छ । त्यो विऊ उम्रिएर झ्याम्मिएपछि मानिस अहंकारको यात्रामा अघि वढ्दै जान्छ । मानिस विवेक सुन्य हुन्छ । मन बचन कर्म अनियन्त्रीत हुन्छ । तर्क भन्दा मुढ्की उठ्छ । तार्किक प्रश्नका खुट्टा भाँचिन्छन्।त्यसैले उसको मुखरुपी पाठेघरबाट शब्दरुपी अबैध बच्चा जन्मिरहन्छ । हालसालै जन्मिएका एउटा अवैध बच्चाले मिचाहालाई सजिलो पर्ने गरी पुच्छर काटिदिएको छ । पुर्खाको रगतसँग साटिएका आफ्नो प्यारो भूमीबारे उसले गरेका सस्तो कुराबाट थाहा हुन्छ उसको शरीरमा अब कुनै धरो बाँकी छैन । धुर्त पण्डितहरु जति कराए पनि अब नयाँ कालिदास निर्वस्त्र नाङ्गो छ ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.