सञ्चारकर्मी सहित ११ जना व्यक्तित्वलाई सम्मान गरिने

हेटौँडा । झरना साहित्यिक परिवार मकवानपुरले साहित्य, कला र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका ११ जना व्यक्तित्वलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ। संस्थाको ३२३औँ साहित्य शृङ्खला तथा ३३औँ वार्षिक उत्सवको अवसरमा आयोजना हुने बकैया–कला साहित्य महोत्सव–२०८२ मा विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गरिने जानकारी शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।

फागुन ५ र ६ गते बकैया गाउँपालिका–४ स्थित महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन हुने महोत्सवमा नगद २१ हजार १ सय २१ रुपैयाँ राशिको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ पाँचथरका साहित्यकार रमेश शुभेच्छुकलाई प्रदान गरिने झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिनुभयो।

जिल्लामा साहित्यिक संस्था स्थापना र संरक्षणमा योगदान पुर्‍याएको कदरस्वरूप मकवानपुरका निमेश निखिललाई बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२ प्रदान गरिनेछ। यस सम्मानको नगद राशि १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ।

त्यस्तै, मुक्तक विधामा उल्लेख्य योगदान पुर्‍याएका रुकुम पश्चिमका कर्णबहादुर खत्रीलाई शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ। उक्त सम्मान चैत महिनाको चौथो शनिबार हेटौँडामा आयोजना हुने मुक्तक साँझमा समर्पण गरिनेछ।

यसैगरी, खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२ (रु. ८ हजार ५ सय) नेपालगञ्जकी ऋचा लुइँटेललाई प्रदान गरिने भएको छ। सिर्जनशील नारी सम्मान–२०८२ मकवानपुरकी संगीता थापालाई, सञ्जीवनि बुटी साहित्य सम्मान–२०८२ डा. अर्पण पराजुलीलाई र खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२ सूर्य सन्यासीलाई प्रदान गरिनेछ। यी सम्मानहरूको नगद राशि ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ।

छन्द कवितामा योगदान पुर्‍याएबापत ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८२ भैरहवाकी सिर्जना खनाललाई प्रदान गरिनेछ, जसको नगद राशि ९ हजार रुपैयाँ रहेको छ। बकैयास्थित कला क्षेत्रमा योगदान पुर्‍याउने नवप्रतिभाका रूपमा मोनिका नेगीलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिनेछ।

पत्रकारितामार्फत झरना साहित्यिक परिवारको गतिविधि प्रचार–प्रसारमा सहयोग पुर्‍याएको भन्दै पत्रकार दीपक अधिकारीलाई गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ प्रदान गरिनेछ। यस सम्मानको नगद राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ।

यस वर्षदेखि स्थापना गरिएको ‘कुलकुमारी–झलकनाथ लोक साहित्य सम्मान–२०८२’ साहित्यकार तथा लोकगायक बझाङका नन्दकृष्ण जोशीलाई प्रदान गरिनेछ। लोक गीत–संगीतमा योगदानको कदरस्वरूप झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक उद्धव सापकोटा र भरत सापकोटाले आफ्ना माता–पिताको स्मृतिमा यो सम्मान स्थापना गरेका हुन्। सम्मानको नगद राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ।

महोत्सवका क्रममा पुरस्कार तथा सम्मान समर्पणसँगै चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका सांस्कृतिक नृत्य, बकैयाको काव्य महक, समकालीन गजल तथा मुक्तक उत्सवलगायत विविध साहित्यिक–सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.