अहिले देश विषम परिस्थितिबाट गुज्रिएको छ । जेन्जी आन्दोलनपछि देशमा संसदबिनाको अन्तरिम सरकार छ । यो सरकार देशलाई निकास दिन लोकतान्त्रिक व्यवस्थालाई सिस्टममा लान चुनाव गराउने प्रयासमा छ । यसै सेरोफेरोमा रहेर सबै समाचारका जी. न्यौपानेले नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य, समाजवादी कानुन व्यवसायी सङ्गठनका केन्द्रिय इन्चार्ज, ३ दशकदेखि कानुनविदका रुपमा कार्यरत अधिवक्ता घनप्रसाद गौतमसँग कुराकानी गरेका छन् , प्रस्तुत कुराकानीको सम्पादित अंश ।
अहिलेको देशको विषम परिस्थितिलाई कसरी हेर्नुभएको छ ?
–दुईचार जना भ्रष्ट नेता, कार्यकर्ताहरुको हठले गर्दा देशमा कानुनी शासन लागु हुन सकेन । भ्रष्टाचार बढ्यो । रोजगारको कमी भयो । युवाहरूमा एक खालको निराशा थियो । आफ्नो भविष्य खोज्दै होनहार युवाहरू विदेशीन बाध्य भए । त्यसैको फलस्वरूप जेन्जी आन्दोलन भयो र घुसपैठको कारण ठूलो तहसनहस भयो । देशमा युवा छैनन् । दैनिक ३ हजार युवा विदेसिनछन्, महिनामा विदेशबाट बाकसमा प्याक भएर २०–२५ वटा युवाको लास आइपुग्छ देशमा । जेन्जीको माग के थियो, देशमै रोजगारको श्रीजना होस् , भ्रष्टाचार हटोस्, कानुनी शासन लागुहोस्, बोल्न पाउने नागरिक स्वतन्त्रता हनन् नहोस् भनेको होइन ?
यो कुरात सबै राजनीतिक दलहरूलाई पनि त थाहा थियो नि यो विषय दलहरूले भाषणमा मात्र सिमित राखे त ?
–म एउटा कानुनविद पनि हुँ र राजनीति पनि गर्छु तर म खरो र प्रष्ट वक्ता पनि भएकोले भ्रष्टाचारमूक्त कानुनी शासनको पक्षधर हुँ । जेन्जी आन्दोलन जायज छ । यो देशमा भ्रष्टाचार मौलाएको धेरै भयो । २०४६ सालदेखि यता जति पनि व्यक्ति देशको सांसद भए, मन्त्री भए तिनीहरु लगायत उच्च तहका सरकारी कर्मचारीहरुको समेत सम्पत्तिको श्रोत खोज्नुपर्छ र भ्रष्टाचारबाट आर्जन गरेका सम्पत्ति सबै राष्ट्रियकरण गरेर उत्पादनमा लगानी गरेर देशमा रोजगारिताको श्रीजना गरेर युवाहरूलाई विदेशबाट बोलाउनुपर्छ । यो नितिमा सरकार लाग्यो भने सफल हुन्छ । यो काम छिटोभन्दा छिटो गर्नुपर्छ ढिलो भैसक्यो ।
विषम परिस्थितिमा छ देश । शुसिला कार्कीको नेतृत्वमा अंतरिम सरकार बनेको छ । ६ महिनामा चुनाव गराउन सक्ला त यो सरकारले ? –चुनाव हुन्छ । चुनावको विकल्प छैन । यदि चुनाव भएन भने देश गृह युद्धमा जान्छ । यो विषम परिस्थितिमा बनेको सरकार हो दीर्घकालिन होइन । देशलाई सिस्टममा लान संसद छैन । त्यसकारण पनि चुनाव अनिवार्य छ, यो सरकारले चुनाव गराउँछ त्यसमा विश्वस्त हुनुपर्छ ।
देशभरि विभिन्न कारागारबाट ६ सयभन्दा बढी विदेशी कैदी बन्दी सहित ५ हजार कैदि बन्दी फरार छन् । प्रहरीहरुबाट हातहतियार लुटेका छन् । देशका प्रमुख निकायका भवन जलेर ध्वङ्स भएको छ । फेरि एमाले पार्टीले चुनाव हुन दिन्नौ संसद पूनः निर्माण गर्छौँ भनिराखेका छन् । यस्तो परिस्थितिमा शान्ति पुर्णढङ्गले चुनाव होला त ?
-हुन्छ, यस कुरामा आम नागरिक, नागरिक समाज, मानव अधिकारवादी लगायत सम्पूर्ण संघसंस्था, निर्वाचन आयोग मिलेर यो सरकारलाई चुनाव गराउन सघाउनुपर्छ ।
घुसपैठ गर्ने, कलिला विद्यार्थीहरु, प्रहरीहरुलाई सहिद बनाउने, कयौंलाई घाइते बनाउने आरोपित पक्षहरु, देश जलाएर ध्वस्त पार्ने तत्वहरुलाइ कारवाही हुन्छ कि हुदैन ?
–कारवाही हुनुपर्छ, कानुन को कठघरामा उभ्याएर कसुर अनुसारको कडाभन्दा कडा कारवाही हुनुपर्छ । छुट दिनुहुँदैन । अब यो सरकारले नसके आउदो सरकारले यो कदम चाल्नुपर्छ ।
अब नेकपा एकीकृत समाजवादीको भुमिका के हुन्छ ? पार्टी गठबन्धनको कुरो चलिराखेको छ, आन्तरिक कलह पनि छ क्यारे, पार्टीका प्रमुख व्यक्तिहरुले पनि पार्टी छोड्ने क्रम बढ्यो ?
–जुनसुकै पार्टीमा पनि यस्तै परिस्थिति छ । छोड्ने आउने क्रम चलिरहन्छ । आन्तरिक द्वन्द्व जहाँ पनि छ अब यो परिस्थितिमा, उपरिस्थितिमा भन्दा पनि देश जोगाउनतिर लाग्नुपर्छ । हामी चुनावको पक्षमा छौं । अर्को पार्टीमा समर्पित व्यक्ती देखिएन अवसर लिए । पार्टीलाई अप्ठ्यारो पर्दा अन्यत्र छोडेर गए त्यही दुःखद कुरोभो ।



























