बर्दिबास, महोत्तरी । बुढ्यौली साहित्य समाज महोत्तरीको आयोजनामा जनता माध्यमिक विद्यालय बर्दिबासको सभाकक्षमा सोमबार २१२ औँ भानु जयन्ती भव्य रूपमा मनाइएको छ।
कार्यक्रमको सुरुमा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण गरी औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा बुढ्यौली साहित्य समाज मधेस प्रदेशका अध्यक्ष लम्बोदर काफ्ले र सचिव रामचन्द्र पौडेलको उपस्थितिका साथै महोत्तरी, धनुषा र सर्लाहीबाट आएका चर्चित साहित्यकार प्रेम घिमिरे, राजेश्वरी काफ्ले, दिनेश गरिब पौडेल, नारायण घिमिरे, उद्धव अविचल, गणेश घिमिरे, बिपिराज दहाल, निरप्रसाद शर्मा, गणेश तिमल्सिना, रमेश बस्नेत, विणा हमाल र भारतीय कवि मो. कमरुद्दिन नदाफले आफ्ना कविता, गीत र गजल प्रस्तुत गरी माहोललाई साहित्यिक रंगले भरिदिएका थिए।
त्यस्तै रचना वाचन गर्नेहरूमा नारायण खड्का, अम्बिका दहाल, बोधराज दहाल, नेत्र रम्तेल, प्रकृति पाण्डेलगायतको समेत सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गरेका रमेशमोहन अधिकारी, पत्रकार गोपाल बराल र विद्यालयका प्रधानाध्यापक तोप बहादुरज्यू ठकुरीले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे।
बुढ्यौली साहित्य समाज महोत्तरीका सदस्य मोहन गिरीले उपस्थित पाहुनाहरूलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव नारद काफ्लेले र सभाध्यक्षता अध्यक्ष लालबाबु पोखरेलले गरेका थिए।
कार्यक्रमले भानुभक्तको योगदानलाई स्मरण गर्दै साहित्यिक वातावरणलाई अझ व्यापक बनाउने संदेश दिएको सहभागीहरूले बताएका छन्।



































































