रुख ढल्दा हेटौंडा ११ आधारभूत स्वास्थ्य केन्द्रको भवनमा क्षति

हेटौंडा । जेठ ११ गते सोमबार साँझ आएको हावाहुरीका कारण हेटौंडा-११ स्थित नवलपुर आधारभूत स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको छ।

हावाहुरीले स्वास्थ्य केन्द्रको पछाडि रहेको जंगलको रुख जरैदेखि उखेलेर भवनमा खसालेको हो। रुखले भवनको माथिल्लो तलामा जाने भर्याङमा क्षति पुर्याएको छ, जसका कारण अहिले माथिल्लो तलामा आवतजावत बन्द भएको कार्यालयले जनाएको छ। केन्द्र प्रमुख मीना कुमारीका अनुसार घटना हुँदा कार्यालय बन्द रहेकोले मानवीय क्षति हुनबाट जोगिएको हो। “कार्यालय खुलेको समय भएको भए ठूलो मानवीय क्षति हुने सम्भावना थियो,” उनले भनिन्।

हावाहुरीले सोही स्थानमा रहेको तारकेश्वर मन्दिरको प्रवेशद्वार अगाडि पनि रुख ढाल्दा बाटो अवरुद्ध भएको छ। रुख ढल्दा बिजुलीको पोलसमेत भाँचिएको छ भने विद्युत्का तारहरू जताततै लत्रिएर जोखिम बढेको छ। निकै तीव्र गतिमा आएको हावाहुरीका कारण हेटौंडाका विभिन्न ठाउँमा रुख ढलेका छन्, तर हालसम्म कुनै मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ वडाध्यक्ष जुना दाहालले विपद् व्यवस्थापन कार्यालयमा खबर गरिसकेको जानकारी दिइन्। स्थानीयहरूले जंगलका पुराना र जोखिमयुक्त रुखहरूको व्यवस्थापन गर्न सम्बन्धित निकायले पटक-पटक चासो नदिँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। थप जोखिम हुन नदिन स्थानीय सरकार र जिल्ला वन कार्यालयले तत्काल ठोस कदम चाल्नुपर्नेमा स्थानीयले जोड दिएका छन्। हेर्नुहोस् तस्बिरमा–

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.