हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संघीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई जनताको जीवनस्तर सुधार्ने माध्यम हुनुपर्ने बताउनुभएको छ। १९ औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्रलाई जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने व्यवस्था बनाउनुपर्नेमा जोड दिनुभएको हो।
प्रदेश प्रमुख देवकोटाले भन्नुभयो, “गणतन्त्र शासक होइन, सेवक भएर काम गर्ने व्यवस्था हो। राज्यको शक्ति र स्रोतमा आम नागरिकको समान पहुँच सुनिश्चित गर्नु नै गणतन्त्रको वास्तविक सार हो।” राजनीतिक अधिकारको लडाइँ पूरा भइसकेको भन्दै अबको मुख्य ध्यान आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायतर्फ केन्द्रित हुनुपर्ने उहाँको धारणा थियो।
उहाँले नयाँ पुस्ताको अपेक्षालाई समयमै सम्बोधन गर्न नसके देश अस्थिरतातर्फ धकेलिन सक्ने चेतावनी दिँदै विकास र जनसेवाका साझा एजेन्डामा सबै दल र नागरिक समाज एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

‘गणतन्त्रले जनतालाई मालिक बनाएको छ’: मुख्यमन्त्री बानियाँ
समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक गणतन्त्रले नेपाली जनतालाई वास्तविक मालिक बनाएको बताउनुभयो। उहाँले संविधानले सुनिश्चित गरेको नागरिक स्वतन्त्रता, समावेशिता र समानुपातिक प्रतिनिधित्व गणतन्त्रका दरिलो उपलब्धि भएको उल्लेख गर्नुभयो।
मुख्यमन्त्री बानियाँले स्वीकार गर्नुभयो, “राजनीतिक नेतृत्वको कार्यशैली र व्यवहारका कारण केही हदसम्म जनतामा असन्तुष्टि बढेको छ। यसैलाई बहाना बनाएर राजनीतिक गतिरोध सिर्जना गर्ने प्रयास हुनु दुर्भाग्यपूर्ण छ।” संघीयतालाई कमजोर पार्ने प्रवृत्तिप्रति सचेत रहँदै प्रदेश सरकार लोकतन्त्रको रक्षा र संरक्षणमा पूर्ण प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।
“बागमती प्रदेश सरकार संविधानको मर्मबमोजिम जनमुखी, गरिबमुखी र गाउँमुखी सेवा प्रणालीलाई आत्मसात् गर्दै समावेशी विकासको मार्गमा अघि बढिरहेको छ,” मुख्यमन्त्री बानियाँले भन्नुभयो। उहाँले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि राजनीतिक दल, सरकार र निजी क्षेत्रबीच राष्ट्रिय एकता तथा सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

पत्रकारसहित विजेताहरू सम्मानित
समारोहमा प्रदेश सरकारले विभिन्न विधामा ४ पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
खोज पत्रकारिता पुरस्कार: पोष्टराज अधिकारी (नयाँ पत्रिका)
विकास पत्रकारिता पुरस्कार: सुनिता विष्ट
सुशासन पत्रकारिता पुरस्कार: युवराज श्रेष्ठ (रामेछाप)
संघीयता संस्थागत पुरस्कार: रामहरि कार्की (ललितपुर)

गणतन्त्र, सुशासन र विकासका मुद्दामा नागरिक तहसम्म सूचना सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरूलाई जनही ५० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो। साथै, सोही अवसरमा गणतन्त्र दिवसका अवसरमा आयोजित निबन्ध र खुल्ला दौड प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो।




































































