हेटौँडा । राष्ट्रिय चलचित्र पत्रकारिता दिवस-२०८३ को अवसरमा चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चलचित्र पत्रकारिता र कला क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ।
संघका केन्द्रीय उपाध्यक्ष दीपज्योति थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा चलचित्र क्षेत्रका स्रष्टा तथा पत्रकारहरूलाई कदर गरिएको हो। संघका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निम्न व्यक्तित्वहरू सम्मानित भएका छन्:
धनमान श्रेष्ठ स्मृति चलचित्र कलाकार सम्मान–२०८३: कलाकार विष्णुप्रसाद सापकोटा।
नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३: चलचित्र पत्रकार कृष्ण भट्टराई।
चलचित्र पत्रकारिता पुरस्कार–२०८३: कान्तिपुर दैनिकका संवाददाता सुवास विडारी।
कार्यक्रममा बोल्दै वक्ताहरूले चलचित्र पत्रकारिताको माध्यमबाट नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रममा चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संघका संस्थापक अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारी, फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ र प्रेस चौतारी मकवानपुर अध्यक्ष सरिता दाहाल लगायत सञ्चारकर्मी तथा चलचित्रकर्मीहरूको उपस्थिति थियो।
सामान्यतया राष्ट्रिय चलचित्र पत्रकारिता दिवस जेठ ७ गते मनाउने गरिए पनि मोफसलका शाखाहरूले भने आफ्नो अनुकूलताअनुसार कार्यक्रम आयोजना गर्दै आएका छन्।



































































