हेटौँडा । हेटौंडामा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) तथा बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको आयोजनामा “इमर्जन नेपाल: ड्राइभिङ द फ्युचर” अभियानअन्तर्गत “पोलिसी डाइलग अन इलेक्ट्रिक भेहिकल एडप्सन” कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा इभी प्रवर्द्धन, नीति स्थायित्व, पूर्वाधार विकास तथा जनचेतनाका विषयमा व्यापक छलफल गरिएको थियो।
बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अटोमोबाइल व्यवसायी, इन्जिनियर, इभी प्रयोगकर्ता, पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले गरेका थिए।
कार्यक्रममा मेकानिकल इन्जिनियर आदर्श पौडेलले इभीको वर्तमान अवस्था, बजार, कर प्रणाली, ब्याट्री व्यवस्थापन, अवसर तथा चुनौतीबारे प्रस्तुति दिएका थिए। सहभागीहरूले नेपालमा इभीप्रति सकारात्मक आकर्षण बढ्दै गएको उल्लेख गर्दै चार्जिङ स्टेशन विस्तार, दीर्घकालीन विद्युत् आपूर्ति, कर स्थायित्व र ब्याट्री रिसाइकल व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
छलफलका क्रममा इभी प्रवर्द्धनसँगै दक्ष जनशक्ति विकास, प्राविधिक तालिम, सार्वजनिक यातायातमा सुरक्षा मापदण्ड तथा तथ्यपरक सूचना प्रवाहको आवश्यकता औंल्याइएको थियो।
कार्यक्रमबाट प्राप्त सुझावलाई प्रतिवेदनमार्फत संघीय, प्रदेश र स्थानीय तहमा पेश गरिने आयोजकले जनाएको छ। साथै “इमर्जन नेपाल: ड्राइभिङ द फ्युचर” अभियानअन्तर्गत देशव्यापी संवाद, सर्वेक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।



































































