हेटौंडा । हेटौँडा–११ स्थित सिमलटार सुकुम्बासी बस्ती पुगेर श्रमशक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीमाथि भइरहेको दबाब र विस्थापनको प्रयासप्रति कडा आपत्ति जनाएका छन्। उनले राज्यले नागरिकलाई संरक्षण दिनुपर्ने ठाउँमा उल्टै घर भत्काएर त्रास सिर्जना गर्नु अस्वीकार्य भएको बताएका हुन्।
सिमलटारमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै साम्पाङले संविधानले प्रत्येक नागरिकलाई बाँच्न र सुरक्षित आवासमा बस्न पाउने मौलिक हक सुनिश्चित गरेको स्मरण गराउँदै बल प्रयोगको शैलीमा गरिने कुनै पनि कदम लोकतान्त्रिक मूल्यविपरीत हुने बताए।
उनले भने, “हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ। राज्यले अचानक डोजर लिएर आएर जनता आतंकित बनाउने काम गर्नु हुँदैन। हामी त्यसको विपक्षमा छौँ।”

साम्पाङले सुकुम्बासी समस्यालाई केवल स्थानीय मुद्दाका रूपमा नभई राष्ट्रिय सामाजिक न्यायसँग जोडिएको विषयका रूपमा व्याख्या गरे। उनले संसद् र सडक दुवै मोर्चाबाट सुकुम्बासीहरूको आवाज उठाइरहने प्रतिबद्धता जनाउँदै प्रतिनिधिसभाको पहिलो अधिवेशनमै आफूले यो विषय उठाइसकेको जानकारी दिए।
“अरू कोही रहला नरहला, म तपाईंहरूको पक्षमा उभिन्छु,” उनले भावुक शैलीमा भने, “जनताको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै एकजुट हुन आवश्यक छ।”
सरकारले सार्वजनिक तथा सरकारी जग्गा संरक्षणको नाममा गरिरहेको अतिक्रमण हटाउने अभियानप्रति संकेत गर्दै उनले जनतालाई बेघर बनाउने कदमलाई “निरंकुश प्रवृत्ति”को संज्ञा दिए। उनले मेचीदेखि महाकालीसम्मका नागरिकलाई मानवअधिकार र आवास अधिकारको पक्षमा आवाज उठाउन आह्वान समेत गरे।

साम्पाङले सिमलटारवासीसँग निरन्तर संवाद र सहकार्य जारी राख्ने आश्वासन दिँदै उनीहरूको दुःखमा सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा स्थानीय बासिन्दाले बस्तीमाथि बढ्दो दबाब, हटाइने त्रास र अनिश्चित भविष्यबारे आफ्ना गुनासा राखेका थिए।
पछिल्लो समय सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियान तीव्र बनेसँगै हेटौँडा–११ को सिमलटार बस्ती चर्चामा छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकता दिएको बताइरहे पनि बस्तीका स्थानीय भने विस्थापनको भयमा जीवन बिताइरहेका छन्।



































































