हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सङ्घीय शासन प्रणाली, समावेशी लोकतन्त्र तथा वित्तीय सङ्घीयताबारे युवामा साझा बुझाइ विकास गर्ने उद्देश्यले प्रदेशस्तरीय युवा संवाद कार्यक्रम सम्पन्न भएको छ।
United Nations Development Programme अन्तर्गतको PLGSP र flc.org.np को सहकार्यमा आयोजित कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब ५८ जना युवा, विद्यार्थी, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यक्रममा सङ्घीयता कार्यान्वयन, अन्तर–सरकारी सम्बन्ध, समावेशी शासन, वित्तीय सङ्घीयता तथा नीति निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिताबारे छलफल गरिएको थियो। सहभागीहरूले प्रतिनिधित्व मात्रै होइन, वास्तविक समावेशिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।
‘सङ्घीयता बुझाइ’ सत्रमा डा. खिमलाल देवकोटा ले वित्तीय सङ्घीयता, स्रोत बाँडफाँट र बजेट सिमुलेसनबारे सहजीकरण गरेका थिए। त्यसैगरी प्रह्लाद लामिछाने, प्रकाश पन्थ, मोहम्मद आयुब तथा कृष्णकुमार साह ले विभिन्न विषयगत सत्र सञ्चालन गरेका थिए।
कार्यक्रमको सञ्चालन लुमना तुलाधर उप्रेती ले गरेकी थिइन्। आयोजकका अनुसार यस्ता युवा संवाद कार्यक्रम यसअघि जनकपुर र विराटनगर मा सम्पन्न भइसकेका छन् भने आगामी दिनमा अन्य प्रदेशमा पनि विस्तार गरिनेछ।



































































