किशोरीलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ तालिम सम्पन्न

हेटौंडा । मकवानपुरको मनहरी र कैलाश गाउँपालिकाका किशोरीहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तीनमहिने आधारभूत सिलाइ तथा कटाइ तालिम सम्पन्न भएको छ।

नारी संरक्षण केन्द्रको आयोजनामा सञ्चालित तालिम हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको समन्वय तथा फ्रेन्ड्स अफ डब्लु.पि.सि. नेपालको सहयोगमा सञ्चालन गरिएको थियो। तालिममा आठ जना किशोरी सहभागी भएका थिए।

समापन कार्यक्रममा सहभागीहरूलाई दुई समूहमा विभाजन गरी दुई वटा सिलाइ मेसिन हस्तान्तरण गरिएको आयोजकले जनाएको छ। तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै सहभागीहरूलाई स्वरोजगार र आयआर्जनतर्फ अग्रसर गराउने उद्देश्य राखिएको बताइएको छ।

कार्यक्रम हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। नारी संरक्षण केन्द्रकी अध्यक्ष दिपा गुरुङले कार्यक्रमको सभाध्यक्षता गरेकी थिइन्।

समापन कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका जिल्ला अध्यक्ष रमिला सापकोटा, मानव अधिकार संगठनकी अध्यक्ष शर्मिला श्रेष्ठ, माइती नेपालकी कार्यक्रम संयोजक माया लामा तथा हिमराइट्स मकवानपुरकी संयोजक कुमारी वाइबालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले महिलाको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम प्रभावकारी माध्यम बन्ने उल्लेख गर्दै यस्ता कार्यक्रम ग्रामीण समुदायसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनीहरूले तालिमले किशोरीहरूमा आत्मविश्वास बढाउनुका साथै आफ्नै व्यवसाय सुरु गर्ने आधार तयार गरेको धारणा राखे।

तालिममा प्रशिक्षक शशी रास्थला र दिव्यस्वरी श्रेष्ठले व्यवहारिक सिलाइ तथा कटाइसम्बन्धी प्रशिक्षण दिएका थिए। नारी संरक्षण केन्द्रले विगत १६ वर्षदेखि निरन्तर रूपमा सिलाइ तालिम सञ्चालन गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिइन्।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.