हेटौँडा । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय विद्यार्थी र किशोरकिशोरीहरू मानव बेचबिखन र साइबर अपराधको उच्च जोखिममा पर्न थालेपछि हेटौँडामा विशेष सचेतना अभियान सुरु गरिएको छ।
शनिबारदेखि हेटौँडा–२ मा ‘हाम्रो आवाज; मानव बेचबिखनमुक्त समाज’ भन्ने मूल नाराका साथ दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको हो। माइती नेपाल मकवानपुरको आयोजना र हेटौँडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयको सहकार्यमा सञ्चालित यस कार्यक्रमले विद्यालय तहका विद्यार्थीलाई कानुनी र व्यावहारिक सुरक्षाबारे जानकार बनाउने लक्ष्य राखेको छ।
कार्यक्रममा मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जालका सचिव जगन्नाथ सुवेदीले डरलाग्दो तथ्याङ्क प्रस्तुत गर्दै करिब १५ लाख नेपाली मानव बेचबिखनको जोखिममा रहेको बताए। विशेष गरी ११ देखि २५ वर्ष उमेर समूहका महिला तथा किशोरीहरू यसको ‘सफ्ट टार्गेट’ मा रहेको उनको भनाइ छ।
“पहिले बेचबिखन भनेको वेश्यावृत्तिका लागि मात्र बुझिन्थ्यो, तर अहिले यसको स्वरूप बदलिएको छ। दासता, बन्धुवा मजदुरी र अङ्ग प्रत्यारोपणका लागि समेत छलकपट र शक्तिको दुरुपयोग गरी ओसारपसार भइरहेको छ,” सुवेदीले स्पष्ट पारे। उनले नेपाल अहिले बेचबिखनको ‘स्रोत मुलुक’ मात्र नभएर ‘ट्रान्जिट’ र ‘गन्तव्य’ मुलुकका रूपमा समेत देखिनु चुनौतीपूर्ण रहेको बताए।
अभिमुखीकरणमा अनलाइन माध्यमबाट हुने अपराध र यसका कानुनी सजायबारे पनि विद्यार्थीलाई सचेत गराइयो। विद्युतीय कारोबार ऐन २०६३ अनुसार साइबर अपराध गर्नेलाई ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधानबारे जानकारी दिइयो।
त्यस्तै, सिविन नेपालका प्रबन्धक झविन्द्र ज्ञावलीले अनलाइन बाल यौन शोषण र डिजिटल माध्यमबाट हुने दुर्व्यवहारबाट बच्ने उपायबारे प्रस्तुतीकरण दिएका थिए। उनले इन्टरनेट चलाउँदा अपरिचित व्यक्तिसँगको सम्पर्क र सामाजिक सञ्जालको असावधानीले बालबालिका गम्भीर संकटमा पर्न सक्नेतर्फ ध्यानाकर्षण गराए।
माइती नेपाल मकवानपुरकी जिल्ला संयोजक माया लामाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा नं. २ स्थित बालजागृति र सिद्धार्थ माध्यमिक विद्यालयका करिब ६० जना विद्यार्थीको सहभागिता थियो। आइतबार पनि अन्य विद्यार्थीहरूका लागि यो कार्यक्रम निरन्तर रहने आयोजकले जनाएको छ।
कार्यक्रममा वडा सचिव आमोदप्रसाद मैनालीले वडाले दिने सेवा र सामाजिक उत्तरदायित्वबारे बोलेका थिए भने अधिवक्ता सुवेदी, माइती नेपालकी सुपरभाइजर मन लामा र सहजकर्ता सरिता देवकोटा तामाङले विद्यार्थीका जिज्ञासाको सम्बोधन गरेका थिए।


































































