हेटौंडा – हेटौंडा उपमहानगरपालिका-११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। साहित्य संगम मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिका-११ नम्बर वडाको प्रवर्द्धनमा उक्त प्रतियोगिता आयोजना गरिएको हो।
‘पर्यापर्यटनमा स्थानीय सरकारको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा हेटौंडा-११ स्थित हेटौंडा एकेडेमीका छात्र सुलोचन पराजुली प्रथम भएका छन्। त्यसैगरी, हेटौंडा-१८ स्थित ज्योति माध्यमिक विद्यालयकी छात्रा सुनिता भोम्जन द्वितीय र त्रिभुवन माध्यमिक विद्यालयकी छात्रा पृज्मा शिवाकोटी तृतीय भइन्। साथै, हेटौंडा-९ स्थित प्रगति माध्यमिक विद्यालयकी छात्रा सदिक्षा नेपाल र बकैया गाउँपालिका स्थित बुद्ध माध्यमिक विद्यालयकी छात्रा सुमिना दाहालले सान्त्वना पुरस्कार प्राप्त गरे।

साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने छात्रछात्रालाई क्रमशः ७,५००, ५,५००, ३,५०० र १,५०० रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगितामा साहित्यकार रमेशमोहन अधिकारी, पत्रकार सरिता दाहाल र साहित्य संगम मकवानपुरका उपाध्यक्ष मनोज पोख्रेलले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा वडा सदस्यद्वय गीता सुनार र गोपिनी सापकोटा, त्रिभुवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय गोविन्दप्रसाद न्यौपाने र बद्री लम्साल, विद्यालयका प्र.अ. रामकुमार बर्तौला, सहायक प्र.अ.द्वय बैकुण्ठ नेपाल र शर्मिला ढकाल, सिस्नुपानी नेपालका निवर्तमान अध्यक्ष राजकुमार लामिछाने, साहित्यसेवी ठाकुराम भण्डारी लगायतको उपस्थिति रहेको थियो।



































































