हेटौँडामा राष्ट्रिय गोष्ठी: पर्यटनसँगै कृषि र उद्योगको एकीकरणले मात्र दिगो विकास सम्भव

हेटौँडा । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय र महिला विकास सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा हेटौँडामा एक दिवसीय राष्ट्रिय सम्मेलन तथा गोष्ठी सम्पन्न भएको छ। ‘संस्कृति र पर्यटनसँग सहकार्य: कृषि, वन तथा उद्योग क्षेत्रमा देखिएका चुनौती र अवसर’ विषयक उक्त गोष्ठीले विभिन्न क्षेत्रको एकीकृत विकासका लागि बहुपक्षीय सहकार्यमा जोड दिएको छ।

महिला विकास सहकारी संस्था लिमिटेड, नुवाकोटकी अध्यक्ष तुलसा रिमालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरू, उच्च पदस्थ अधिकारीहरू र विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो।

गोष्ठीमा समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेड (काभ्रे), सुप्रीति बचत तथा ऋण सहकारी संस्था लिमिटेड (हेटौँडा), आनन्ददायक बहुद्देश्यीय सहकारी संस्था लिमिटेड (दोलखा) र होटल ब्राण्ड प्रा.लि. (हेटौँडा-१०) सह-आयोजकका रूपमा रहेका थिए।

बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन परम्परागत संस्कृति र पर्यटनलाई कृषि तथा वन क्षेत्रसँग जोड्नुपर्नेमा जोड दिनुभयो। उहाँले मन्त्रालयले सबै क्षेत्रलाई समेटेर एकीकृत सांस्कृतिक पर्यटन नीति निर्माण गर्ने प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो।

त्यस्तै, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले स्थानीय कच्चा पदार्थमा आधारित हस्तकला तथा लघु उद्योगहरूको सांस्कृतिक ब्रान्डिङ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले सहकारीमार्फत युवा उद्यमीहरूलाई प्रविधि र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

प्रदेशकी मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले वन, कृषि र उद्योगका क्षेत्रमा विद्यमान कानुनी तथा प्रशासनिक जटिलता हटाउन तीनै तहका सरकारबीच नीतिगत एकरूपता र कानुनी सुधारको आवश्यकता रहेको बताउनुभयो।

संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले ग्रामीण होमस्टेहरूलाई रैथाने कृषि उत्पादन र पर्या-पर्यटनसँग आबद्ध गर्दा मात्र पर्यटकको बसाइ अवधि लम्बिने र स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने धारणा राख्नुभयो।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तुलसा रिमालले ग्रामीण महिला तथा युवाहरूको आर्थिक सशक्तीकरणका लागि यो गोष्ठी महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले कृषि, पर्यटन र उद्योगको एकीकृत मोडललाई व्यवहारमा उतार्न सकेको खण्डमा यो सम्मेलन ग्रामीण विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.