आगामी बजेटका लागि हेटौँडा उपमहानगरद्वारा क्युआर कोडबाटै सुझाव संकलन सुरु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रमलाई थप जनमुखी र पारदर्शी बनाउन नगरवासीसँग सुझाव संकलन सुरु गरेको छ। स्थानीय सरकारको योजना तर्जुमा प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले उपमहानगरले प्रविधिको प्रयोग गर्दै ‘क्यूआर कोड’ मार्फत सुझाव संकलन अभियान थालेको हो।

विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, वातावरण संरक्षण, खानेपानी, सडक तथा सामाजिक विकास लगायतका क्षेत्रमा नागरिक, बुद्धिजीवी, व्यवसायी, युवा, महिला, किसान र शिक्षक लगायत सम्पूर्ण सरोकारवालाले आफ्नो राय दिन सक्नेछन्। उपमहानगरपालिकाले सार्वजनिक गरेको क्यूआर स्क्यान गरी सजिलै आफ्ना सुझाव पठाउन सकिने व्यवस्था मिलाइएको छ।

नीति तथा कार्यक्रम निर्माण प्रक्रियालाई पारदर्शी बनाउन यो कदम चालिएको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले बताइन्। उनले भनिन्, “जनताको आवश्यकता र अपेक्षाका आधारमा योजना निर्माण गर्दा विकास अझ प्रभावकारी र परिणाममुखी हुन्छ। समृद्ध हेटौँडा निर्माणमा सबै क्षेत्र र समुदायको सहभागिता अनिवार्य छ।”

मेयर लामाका अनुसार नगरवासीबाट प्राप्त भएका रचनात्मक सुझावहरूलाई प्राथमिकताका साथ अध्ययन गरी आगामी बजेटमा समावेश गरिनेछ। ‘समृद्ध हेटौँडा, समावेशी विकास’ को लक्ष्यलाई आत्मसात् गर्दै सुशासन प्रवर्द्धन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यो अभियान सहयोगी हुने अपेक्षा गरिएको छ।

योजना निर्माण प्रक्रियालाई खुला र उत्तरदायी बनाउँदै स्थानीय सरकारप्रति नागरिकको अपनत्व बढाउन यो डिजिटल पहल प्रभावकारी हुने देखिएको छ। उपमहानगरपालिकाले सबै नगरवासीलाई यस प्रक्रियामा सक्रिय सहभागी भई आ-आफ्नो तर्फबाट रचनात्मक सुझाव दिन आह्वान समेत गरेको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.