श्री आधारभूत विद्यालय हेटौंडा १५ कमाने भोर्लेद्वारा सीमारहित शिक्षा सम्पन्न

हेटौंडा । हेटौंडा १५ – श्री आधारभूत विद्यालय कमाने भोर्लेले प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयले आफ्नो नियमित शैक्षिक गतिविधिअन्तर्गत आयोजना गरेको “Borderless Session” कार्यक्रममा ताइवान, भियतनाम, अफ्रिका तथा बंगलादेशका विद्यार्थीहरूसँग कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा विद्यार्थीहरूले आफ्नो देशको संस्कृति, भाषा, रहनसहन, शिक्षा प्रणाली तथा सामाजिक गतिविधिबारे अनुभव आदानप्रदान गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले नेपाली कला र संस्कृतिको झल्को दिने सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए। नेपाली मौलिक संस्कृति प्रस्तुत गरिएको उक्त नृत्यले विदेशी विद्यार्थीहरूको समेत ध्यान आकर्षित गरेको विद्यालयले जनाएको छ।

उक्त कार्यक्रमको सहजीकरण प्रशिक्षक विवस जंग थापाले गर्नुभएको थियो भने कार्यक्रमको समन्वय विद्यालयको प्रधानाध्यापक नविना बस्नेतले गर्नुभएको थियो। प्रधानाध्यापक बस्नेतले यस्ता अन्तर्राष्ट्रिय अन्तरक्रिया कार्यक्रमले प्रविधिको उचित प्रयोग र विद्यार्थीहरूलाई विश्वस्तरीय सिकाइ अनुभव दिलाउनुका साथै फरक संस्कृति र परिवेशबारे बुझ्न सहयोग पुग्ने बताउनुभयो।

त्यस्तै विद्यालयका सहायक प्रधानाध्यापक विशाल बानियाँले अहिलेको प्रविधिको युगमा “ग्लोबल भिलेज” को अवधारणाअनुसार विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो। उहाँले यस्ता गतिविधिले विद्यार्थीको नेतृत्व क्षमता, सञ्चार कला तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.