हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४, भुटनदेवी मोडस्थित रोयल पार्टी प्यालेसमा बिहीबार आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार अपराह्न १२:२५ बजे शेरबहादुर पहरीद्वारा सञ्चालित उक्त पार्टी प्यालेसको सभाहलमा रहेको स्टेजमा विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली र हेटौँडा उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो। दमकल र सुरक्षाकर्मीको सक्रियतामा १२:४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट सभाहलको स्टेजमा रहेको जिप्सन, लाइट, विद्युतीय तारहरू, जस्तापाता र स्टेन बोर्डलगायतका महत्त्वपूर्ण सामग्री जलेर नष्ट भएका छन्। घटनामा कुनै पनि मानवीय वा चौपाया क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ।



































































