मकवानपुर । साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको संयुक्त आयोजनामा साहित्य सङ्गमको ३५७ औं नियमित सन्ध्या एवम् दिवङ्गत साहित्यकार अप्सरा तिम्सिनाको स्मृतिमा विशेष कार्यक्रम तथा सङ्गमको अक्षयकोष निर्माणार्थ सहयोगदाताहरूलाई सम्मान गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देल प्रमुख अतिथि थिए। सल्लाहकारहरू सुबास खनाल, मुक्तिगोविन्द वैद्य, उमा मैनाली, राजुराम राउत, विशाल अधिकारी, उमेश तिमल्सिना, निरा शर्मा, सविता तिमल्सिना, निर्मला भ्लोन, केशव समर्पण, सुवास सजललगायत विशिष्ट व्यक्तित्वहरू कार्यक्रमका अतिथि थिए।
कार्यक्रममा आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन सङ्गमका उपाध्यक्ष सानु खनालले गर्नुभएको थियो। दिवङ्गत साहित्यकार अप्सरा तिम्सिनाको स्मृतिमा उहाँको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो। त्यसक्रममा प्रगतिशील लेखक सङ्घ बागमती प्रदेश अध्यक्ष शान्तिप्रिय वन्दनाले तिम्सिनाको कृतित्व र व्यक्तित्वमाथि विचार व्यक्त गर्नुभयो।

३५७ औं सन्ध्याअन्तर्गत आयोजित साहित्यिक रचना वाचनमा विजनेश सिग्देल, स्वस्तिका बानियाँ, मनोज मधुर, सानुभाइ विक, राजकुमार चौधरी, शान्तिप्रिय वन्दना, देवराज खरेल, यश लामा, गोकर्ण लामा, जनार्दन खनाल, राजकुमार लामिछाने, निरा शर्मा, सावित्री ढुङ्गाना, सानु खनाल र तुलसी घिमिरेले आफ्ना उत्कृष्ट रचना प्रस्तुत गरेका थिए।
कार्यक्रमको तेस्रो चरणमा अक्षयकोष निर्माणमा योगदान दिने सहयोगीहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो। सम्मानितहरूमा रमेशमोहन अधिकारी, भरत लौडारी, दीपक दाहाल, सीताराम दाहाल, मधु ढुङ्गाना, रिदम घिमिरे, रिना आचार्य, गोविन्द चौलागाईं, राजकुमार बिक, पुरुषोत्तम लामिछाने, केशव श्रेष्ठ ‘ज्योति’ र देवीराम लामा रहेका छन्। अनुपस्थित सहयोगीहरूलाई आगामी कार्यक्रममा सम्मान गरिने आयोजकले जनाएका छन्।
साहित्यकार राजकुमार लामिछानेले कार्यक्रममा अक्षयकोष निर्माणका लागि रु १७,७१७/- सहयोग गरेका छन्। यसरी २०७८ भाद्र २८ देखि सुरु गरिएको अभियानअन्तर्गत हालसम्म जम्मा रु ८,२३,०७०/- सङ्कलन भएको अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभयो।

कार्यक्रममा साहित्यसेवी मधु ढुङ्गानाले अक्षयकोष निर्माणको महत्त्वमाथि विचार राखे भने विशिष्ट अतिथि तुलसी घिमिरेले संस्थाको गुणात्मक कार्यक्रम र निरन्तर प्रगतिप्रति खुशी व्यक्त गरे। प्रमुख अतिथि नवीन सिग्देलले भाषा, साहित्य र संस्कृतिको उन्नयनमा निरन्तर साथ दिने, अप्सरा तिम्सिनाको स्मृति ग्रन्थ प्रकाशनमा सहयोग गर्ने र अक्षयकोषमा समेत हातेमालो गर्ने प्रतिवद्धता जनाए।
























