दोषी को ?

देशमा पार्टी, नेता, कार्यकर्ता, पत्रकार, बुद्धिजिवि भनाउँदाहरु धेरै भए।अझ पुरानाले भएन भनेर नयाँ नयाँ दल खोल्न निवेदन दिनेको घुईचो छ।जनतालाई को ठिक भन्न कठिन हुने अवस्था छ।एनजिओ,आइएनजिओ त कति हो कति ! कर्मचारीको संगठन, अन्य पेशागत संगठन त कति हो कति ! देश र जनतामा एकता भन्ने कहिँ कतै देखिदैन।फुटै फुट मात्र छ।मन परेन, पद भएन भने फुटि हाल्ने।यस्तो देश बन्ला भनेर बिश्वास गर्ने हामी जस्तो मानिस कस्ता हौंला ? हामीबाट बिचार आफ्नो धारणा आउन सक्छन्।तर कतिले पत्याउने भन्ने हुन्छ।कसका कुरा पत्याउने भन्ने हुन्छ।

अघिल्लो लेखमा जेनजि आन्दोलन बारे लेखिएको थियो।यस पटक यसैको सेरोफेरोमा नलेखी भएन भन्ने लाग्यो।देशको शासन व्यवस्था ठिक भएन भन्ने कुरामा कुनै संका थिएन।नेतालाई सुध्रिन पटक पटक हरेक ठाउँबाट खवरदारी गरिएकै थियो।कसैले गितबाट भनिरहेका थिए।खेल क्षेत्रमा हुनेले त्यसैगरि भनि रहेका थिए।फिल्म क्षेत्रबाट दृष्य देखाई रहेका थिए।हास्यवंग्यकारहरुले सकेको जति प्रयास गरेकै हो।तर नेता र तिनका पत्नि, छोरा छोरीले हैरानै पारेका थिए देशमा।

कर्मचारी र ओहदामा बस्नेले त टेर्ने कुरा भएन।उनको तलब आएकै थियो।अहिले देशको आम्दानीले नपुगेर कर्जा लिएर तलब दिन पर्ने अवस्था छ।देश भाँडमा जावस्, केही मतलव भएन।यिनलाई देशको माया नै रहेनछ।यिनका व्यवहारले यि चढने सरकारी सवारी गाडी कति ध्वस्त पारे भन्ने कुराले पनि जनताको आक्रोसबाट थाहा हुन्छ।यो क्षति यिनैबाट असुल गर्न पर्ने हो।अर्को किन्न दिन नहुने हो।आफ्नो सवारीमा आउ र तेल हाल भन्न पर्ने हो।लुटको साम्राज्य छ यहाँ।

यि यावत कुरालाई लिएर जनता हैरान भएको देखिरहेका, भनौ मौका छोपेर बसेकाहरुले जेनजिको नाममा आन्दोलन गराउने र घुषपैठ गराएर देश असफल बनाउने रचना रचिएको कुरामा कुनै दुविधा रहेन।पहिलेदेखि तयारी रहेछ।कति लगानी गरिएको रहेछ।के का लागि त्यो तयारी गरियो।सुन्दर देश ध्वसं कसरी गर्ने भन्ने अपराधी सोच देश भित्र र बाहिर रहेछ।यत्रोबिधि पत्रकार कहाँबाट नेपाल आए भन्ने सूचना सम्म रहेनछ सरकार सँग।सरकार त भ्रष्टको संरक्षण गरेर सुतिरहेको रहेछ।

नेताले यति ब्रम्हलुट मच्चाएका थिए कि साध्य थिएन।जनताले सहन सक्ने सिमा नाघेको पक्कै थियो।बैदेशिक ऋण लिएर तलब खाने सम्म स्थिति रहेकै छ।यो अवस्थामा देश किन लगियो भन्ने खोजी हुनु स्वभाविकै थियो।रोजगारीका लागि बिदेशिने युवाको असन्तुष्टिले सिमा नाघेको थियो।खुशी हुने कोही थिएन।अझ कोरोना बेलादेखि देश आर्थिक संकटमा थियो नै।यो अवस्था नेपाल मात्र त हैन होला, अन्य देश पनि चपेटामा परेकै थिए।जो बुद्धिमानी थिए तिनले देश बचाएकै छ।जसलाई आफु लुटने मात्रमा ध्यान बस्यो त्यो देश वरवाद भै रह्यो।

तेस्रो ठुलो दलको नेता प्रचण्डको नेतृत्वको सरकार हटाएर देशका ठुला भनिने दल कांग्रेस-एमालेको झण्डै दुई तिहाईको सरकार बनेको थियो।यो सरकार यति शक्तिशाली थियो कि, एमालेका नेता ओलीले यो सरकार एटम बम हो भन्न बाँकी राखेनन्।बम थियो कि पानीको फोका थियो त्यो त जेनजिको २ दिनको आन्दोलनले देखाई दियो।अझ यिनको दम्भ गएको छैन।यो दम्भ कताबाट आईरहेको छ भन्ने कुरा चै मानिस अचम्म मानी रहेका छन्।

भदौ २३ गते जुन घटना घटेको छ।कयौँ बा आमाका छोरा छोरी गुमेका छन्। तिनको मन चित्त कस्तो भैरहेको होला ? जाँचबुझ आयोगले काम गरिरहेको छ।मलाई कस्ले बयान लिन आउँदो रहेछ हेरौँला भन्ने पनि छन्।प्रहरीले हामीलाई कसरी सजाँय हुन्छ हेरौँला भनि रहेको छ।कसले शान्ति सुरक्षा कस्ले गर्दो रहेछ, हाम्रो पुलिस सडकमा कसरी मारियो भनेर थर्काएको छ।प्रहरी माथि यति ज्यादति भयो कि त्यो सहन सकिने अवस्थाको थिएन।पत्रकारले हो, हो यहि हो भन्दै, यूवालाई गोली हान्ने यहि प्रहरी हो, डिएसपि मारियो भन्दै मानिस उचालेर सामान्य सिपाहीलाई यातना दिई निर्मम तरिकाले हत्या गरे।

चुनाव कसरी गर्ने कसले सुरक्षा दिन्छ प्रहरीले भनिरहेको छ।नेपाली सेनाको मनस्थिति कस्तो रहेछ भन्ने कुरा जेनजि घटनाबाट जनताले बुझेकै छन्।उसले के गर्यो भन्ने तर्फ जनतालाई बुझाई रहनु परेन।देशको शान्ति सुरक्षा कस्ले गर्ने भन्ने जनतामा निराशा र चिन्ता छ।उत्तरका तिब्बतीयनहरु आप्रवासी भएर नेपालमा बसेर नेपाली हुँ भन्दै नक्कली नेपाली बाबु आमा बनाएर नागरिकता लिएर अर्को देशको बिरुद्ध नेपाल प्रयोग गर्ने गरेका रहेछन्।यो नबुझेको हैन।धार्मिक धन्दा भित्र षडयन्त्र रिचदै थियो।यो कार्य अहिले पनि छ।दक्षीण छिमेकी देशका नागरिकहरुले नेपालमा पेशा गर्ने भन्दै, सन्तान उत्पादन गर्दै, जन्म दर्ता गर्दै यहाँ आएर बसेर उदण्ड मच्चाउने कार्य गरिरहेका छन्।यस कार्यमा जिम्मेवार निकाय व्यक्तिहरुले मद्दत गरि रहेका छन्।नागरिकता दिलाउने कार्यमा कर्मचारी राजनैतिक दलका नेता कार्यकर्ताले गलत फाईदा लिई उनीहरुलाई सहयोग गरिरहेका हुन्छन्।यस्ता कार्यले गर्दा देश कठिन अवस्थामा पुगेको हो।यसबाट देशको अस्तित्व माथि खतरा उत्पन्न भयो।

सरकार गठन ठिक भएन संवैधानिक छैन भन्नेको कमि छैन यहाँ।संवैधानिक छ छैन भन्ने मुद्दा परि रहेको छ।यता सरकारले निर्वाचन घोषणा गरेको छ।तर जेनजिको माग बमोजिम यो अन्तरिम सरकार अघि बढेको छैन।भ्रष्ट अपराधीलाई कारवाही गर्न सकेको देखिदैन।देश सुरक्षीत राख्ने हो भने निर्वाचन हुनु अनिवार्य छ।निर्वाचन कहिल्यै नगर्ने हो भने संविधान रहँदैन।अर्को संविधान कस्ले लेख्छ त भन्ने प्रश्न आउँछ।देश गृहयुद्धमा गयो भने कसले थाम्छ, उफ्रेर हुन्छ ?

भदौ २४ गतेको घटना जो छ जेनजिको नाउँमा घुषपैठ गराएर जेनजिका यूवा र तिनको देशप्रतिको सच्चा मागलाई ओझेलमा पार्ने कोसिस हुँदैछ।आन्दोलनको तयारी व्यवस्थित थिएन यो पक्कै हो।यो दोष दिनु सम्म ठिक होला।उनीहरुलाई तर्साउने काम हुँदैछ।यो सोरै आना गलत छ।हतोत्साहि बनाईंदैछ।यो वेठिक छ।होसियार भन्न चाहान्छु।देश चलाउन नजान्ने दोष जेनजिलाई दिने ! घुषपैठियालाई कारवाही गर। गत भदौ २३ गते जसले त्रुटि गरेको छ त्यसलाई कारवाहीको दायरामा ल्याउ।त्यस बेलाको सरकार होस् या प्रहरी वा अपराधि।कसैले उन्मुक्ति पाउनु हुँदैन।हुनत यो देशमा कसलाई कारवाही भएको छ र ? आयोगका प्रतिवेदन यस अघि कति पटक रद्दीको टोकरीमा फ्याकिएकै छ।यो आयोगले प्रतिवेदन दिन्छ।अर्को सरकार आउँछ।त्यो सरकारले त्यो प्रतिवेदन फ्याँकिदिन्छ।अनि सब मिलेर फेरी तर मार्ने काम भैहाल्छ।मदन भण्डारीको मृत्यु छानविनका एकल उमेदवार केपि ओली थिए, उनको प्रतिवेदन त्यसका कार्यकर्ता र जनताले हेर्न त के, त्यसमा के थियो भन्ने कुरा सुन्न सम्म पाएनन्।

माओवादी सहितका कति दल हो कुन्नी मिलेरे।मिलुन्, राम्रो कुरा हो।एकतालाई नराम्रो भन्न मिल्दैन।यसबाट छुट्टिएर गएकाहरु कता-कता मिल्न ढोका-ढोका चाहारिरहेका छन् रे।तिनलाई पनि शुभकामना दिउँ।गाली गर्ने पक्षमा छैन।यहाँ को गलितो छ र ?

देउवा देश र पार्टीको पद छाडेर पत्नि सहित धनि देशमा गए रे भन्ने सुनिन्छ। उनका पार्टीका पनि मिलुन्।एमालेका ओली मंसिरमा आफ्नो पार्टीमा चुनाव लड्दैछन् रे।लडुन, उनको बिरुद्ध लड्नेलाई पनि वधाई छ।ओली बिरुद्ध लड्ने उम्मेदवार जो भएपनि उनलाई सघाउनेलाई पनि अग्रिम बधाई छ।सफल हुन्।रास्वपाको नेतृत्व गरिरहेका सभापति जेल परेको मौका पारि त्यसको नेतृत्व हत्याउन पुगेका बाबुरामलाई पनि बधाई छ।किन कि जेलमा भएका व्यक्ति अहिले मुद्दा फैसला भै सफाई पाई चुनाव लड्ने र नेतृत्व गर्ने अवस्थामा रहेका छैनन्।यतिको हुत्ति त रेछनि डाक्टर सँग।सुदन, जनार्दन, घनश्यामलाई पनि बधाई।हर्के दाजुको माटोलाई पनि सफलताको शुभकामना। जो गए पनि देश फेर्ने नारा न हो।देश फेरियोस् या नफेरियोस् आफु त फेरिन्छ पक्कै।त्यसपछि पत्नि छोरा छोरी नाता गोता फेरिन्छन्।धन सम्पती २।४ वटा घर सम्पती सवारी हुने नै भयो।पद त्यसै आईहाल्छ।

दुर्गा र राजावादीको कुरा अझ बाँकी नै छ।खासमा यिनले चै यो संविधान देशका संरचना भत्काउने प्रायस गत फागुन तिरैबाट गर्न खोजेका हुन्।यिनिहरुले जेनजि आन्दोलन भित्र मजाले घुसेर जन धन व्यक्तिको सम्पती क्षति गरेको कुरामा जनताले संका गरिहरहेका छन्।राजा आउँछन् कि आउँदैनन् त्यो थाहा भएन।यिनलाई यो संविधान व्यवस्था मन परेको थिएन भन्न गारो मान्न पर्दैन।संसदमा यिनका सांसदले घुर्कि लगाएको सुनिएकै थियो।सकारात्मक हैन कि नकारात्मक मात्र देखिन्थ्यो।यिनलाई अब के भनेर मतदान गर्ने हो जनताले थाहा भएन।

जेनजिका माग र देशको आवश्यक्ता के हो भन्ने तर्फ ध्यान दिन जरुरी छ।मतदान त्यसमा गर्ने हो।मुख्यत: देशमा चरम भ्रष्टाचार बेथिति छ।दोश्रो संविधानमा समस्या छ।संविधानमा के समस्या छ भन्ने कुरा बुझ्न आवश्यक छ।संविधानमा भएको निर्वाचन प्रणाली अर्थात शासकिय स्वरुप समेतमा त्रुटि छ।त्यो सच्याउने दललाई मतदान गर्ने हो।दोश्रो भ्रष्टाचार जसले न्युन गर्न सक्छ त्यसलाई मत दिनु उपयुक्त हुन्छ।यहाँ लोभि पापी छन्।को लोभी को पापी भन्ने कुरा पहिले नै थाहा हुँदैन।पछि थाहा हुने हो।संवैधानिक व्यवस्था बमोजिम ५।५ वर्षमा मात्र सच्याउन सकिन्छ।दिन त दिउँ तर पुग्ने गरि, जेनजिका माग सम्बोधन हुने गरि मत दिनु राम्रो।

अन्तमा पत्रकार भनाउँदाहरु, बुद्धिजिवि भनाउँदाहरु, बिदेशी दुतावास सिआईडि अपराधीको त काम कहिल्यै सकिँदैन।यिनले देश वरवाद पार्नकै लागि काम गरिहरेका हुन्छन्।कर्मचारी प्रहरीलाई चुनाव भयो भने मस्ती भैहाल्छ।जनताले भोट दिन बिताएर दिने हो।कुनै दलले खान दिएछ भने ठिकै छ।नभए भोट हालेर घरमा आयो खायो।यो लेख सबै रामो सँग पढेर हेरियो भने चोखो कोही रहँदैन।कलियुगमा यस्तो हुनु अन्यथा हैन भन्ने बाहेक अरु केनैछर ?

-देवी प्रसाद गौतम
हेटौडा मकवानपुर
devi.gautamhtd@gmail.com

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.