एक ख्रीष्टियन र व्यवसाय

जब कोहि व्यक्तिले सुसमाचार सुनी पश्चताप गर्छ र विश्वास गर्छ ऊ एक ख्रीष्टियन हुँदछ। हामी संसारमा छौं र शरीरमा छौं। हाम्रो आफ्नै जिम्मेवारीहरू छन्। वचनमा लेखिएको छ, “यसकारण भाइहरूहो, आफ्नो बोलावट र चुनाउ पक्का गर्न बढ़ी प्रयत्न गर; किनकि तिमीहरूले यी कुराहरू गयौं भने तिमीहरूले कहिल्यै ठेस खानेछैनौं;” (२ पत्रुस १:१०)।

व्यापार गरिरहेको अवस्थामा प्रभुलाई पाएकाहरूले, ‘एउटा ख्रीष्टियनले व्यावसाय गर्न हुन्छ कि हुँदैन होला?’ भनेर प्रार्थना गर्नेहरू पनि मलाई जहाँसम्म लाग्छ धेरै हुनुहुन्छ होला र मैले पनि गरेकै थिएँ। हामीलाई यस्तो प्रश्न आउनु स्वभाविक पनि हो। हामीलाई लाग्न सक्छ कि मैले प्रभुलाई पाएँ पछि सायद व्यापार गर्न छोडेर प्रभुको काम पो गर्नु पर्ने पो होकि ? मन भित्र द्वन्द चलिरहेको हुन सक्छ। यस प्रश्नको निम्ति पनि वचनले हामीलाई अगुवाइ गर्दछ “अनि सेवाहरू पनि किसिम-किसिमका छन्, तर प्रभु उहीं हुनुहुन्छ” (१ कोरिन्थी १२:५)। १ कोरिन्थी १२ बाट हामीले यस विषयमा सिक्न सक्छौं र हाम्रो अगुवाहरूसँग सरसल्लाह पनि लिन सक्छौं।

हामीले गरिरहेको पेशा, व्यापार, व्यवसाय होस् या अन्य कुराहरूमा मैले गर्न हुने र गर्न नहुने कुराहरू जान्नुपर्दछ। वचनले बन्धेज गरेका र सरकारले बन्धेज गरेका कामहरू गर्नु एक ख्रीष्टियनले मिल्दैन। कति विश्वासीहरूले रक्सिको व्यापार व्यवसाय गर्न हुन्छ कि हुँदैन यो थाहा नभएकोले हो या बाध्यताले हो गर्नु भएको र कतिले पछि छोड्नुभएको पनि थाहा पाएको छु। तर वचनले के भन्छ त? “मासु नखानु वा दाखमद्य नपिउनु, वा त्यस किसिमको कुनै काम नगर्नु नै असल हो, जसद्वारा तिम्रो भाइलाई ठेस लाग्छ, पतित हुन्छ, वा कमजोर पारिन्छ” (रोमी १४:२१)। त्यसैले एक ख्रीष्टियन व्यापारीले बाइबलीय शिक्षा बुझ्दै वचन अनुसार नै अघि बढ्नुपर्दछ। एक ख्रीष्टियन भएपछि आफ्नो व्यापार-व्यवसाय त्याग्नु पर्छ भन्ने होइन तर आफ्नो व्यवसायलाई बाइबल अनुसार अघि बढाउँदै, व्यवसायबाट पनि परमेश्वरको महिमा गर्न अघि बढ्न सकिन्छ।

हामीले गरिरहेको व्यापार व्यवसाय नेपाल सरकारबाट सम्बन्धित निकायमा दर्ता गरेर हामी हाम्रो व्यवसाय गर्न सक्छौं। व्यवसायको सुरूवात एउटा उद्यमी सोचबाट सुरु भएता पनि यो सानो लगानीबाट सुरू हुँदै यो एउटा पारिवारिक व्यवसाय हुन सक्छ। अनि त्यसबाट आफ्नो ब्रान्ड भ्यालु विकास गर्दै आफ्नो व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सकिन्छ। धेरै मान्छेहरूमा हामीसंग रूपियाँ पैसा छैन भन्ने सोच पहिल्यै आउँछ। त्यहि घडि नै धेरै उद्यमी सोचको मृत्यु हुन्छ। व्यवसाय गर्ने सोचको सुरूवातमा म कुन व्यावसाय गर्न चाहान्छु?’, ‘व्यवसायको छनोट कुन ठाउँ मा गर्ने?’, ‘सोट’ बिष्लेषण गरी बलियो पक्ष र कमजोर पक्षहरू पत्ता लगाउने, अनि अझै महत्वपूर्ण कुरा त बाइबलीय सल्लाहहरू पछ्याउँदै प्रार्थना सहित अघि बढ्न सकिन्छ। जस्तै याकूबको पुस्तकमा भनिएको छ- “अब आओ, तिमीहरू जसले यसो भन्दछौः आज कि भोलि हामी फलाना शहरमा जानेछौं, र त्यहाँ एक वर्ष रहनेछौं, र व्यापार गर्नेछौं, अनि नाफा कमाउनेछौं।’ तर भोलि के हुने हो, सो तिमीहरू जान्दैनौ। किनकि तिमीहरूको जीवन के हो र? यो त बाफ हो, जुनचाहिँ थोरै समयका लागि देखा पर्छ र त्यसपछि हराइहाल्छ। यसको सट्टामा तिमीहरूले भन्नुपर्नेथियोः “प्रभुले इच्छा गर्नुभयो भने हामी बाँच्नेछौं, र हामी यो कि त्यो गर्नेछौं।” (याकूब ४:१३-१५)।

अनि प्रार्थना संगै व्यवसायलाई चाहिने रकम कति हो पत्ता लाउने। आफूसंग कति छ जम्मा लागानि? कति चाहिने हो? र यसलाई जुटाउने श्रोतहरू कहाँ-कहाँ बाट जुटाउन सम्भव छ? त्यसपछि मात्र एउटा व्यवसाय को जन्म हुन्छ र यो अघिबढछ। धेरै ख्रीष्टियनहरू कै वीचमा पनि व्यापार व्यवसाय भन्ने बित्तिकै यो झूट बोल्नु पर्ने काम, यो ठग्ने काम, यो संसारिक सुख-अभिलाष पुरा गर्न धेरै धनसम्पत्ति कमाउने एउटा बाटो हो’ भन्ने जस्ता बुझाइहरू हुन सक्छ। एक इमान्दार ख्रीष्टियन व्यवसायी बनी परमेश्वरको महिमा गर्न सकिन्छ। “किनकि तिमीहरूसँग रहँदाखेरि पनि हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौंः ‘यदि कोही काम गर्न चाहँदैन भने त्यसले नखाओस् पनि।” (२ थेस्सलोनिकी ३:१०)। अझै भन्ने हो भने यो व्यापार गर्दै जाँदा आफू मात्र नभएर धेरैलाई रोजगारी दिएर सहायता पनि गर्न सकिन्छ। पावल आफै पनि शिमोनसँग धेरै दिनसम्म बसे। शिमोन जोप्पामा छालाको काम गर्थे भनेर बाइबलमा हामी पढ्छौं। “अनि यस्तो भयोः उनी जोप्पामा छाला बनाउने एकजना शिमोनसँग धेरै दिनसम्म बसिरहे।” (प्रेरित ९:४३)।

एक जना प्रभुको सेवक जो एक व्यवसायिक मानिस थिए, उनले आफ्नो काम गर्दै पावललाई बस्न खान र सक्दो सहायता गरेको उदाहरण यहाँ पाइन्छ। यस्ता उदाहरणहरू पुरानो नियम र नयाँ नियममा प्रशस्तै पाउँदछौं। वर्तमान समयमा गरिने व्यवसाय र बाइबलकालिन समयमा गरिने भेडा, गोरू, माछा, कपडा आदिको व्यवसायमा समानता पाउन सकिन्छ। ख्रीष्टियन विश्वास र व्यवसायमा फरक पनि बुझ्न जरूरि छ। वचनले भन्दछ- “चाहे खाओ चाहे पिओ चाहे जे सुकै गर परमेश्वरको महिमा निम्ति गर”। असल बुबा आमाले छोराछोरीको निम्ति पारिवारिक आवश्यकता पुरा गर्नु र जोहो गर्नु पर्छ भनेर कडाइको साथ आज्ञा नै गरिएको छ। “हेर, तेस्रो पटक म तिमीहरूकहाँ आउन तयार छु; अनि म तिमीहरूका निम्ति भार बन्नेछैनँ; किनकि म तिमीहरूका सम्पत्ति होइन, तर तिमीहरूलाई नै चाहन्छु;किनकि छोराछोरीहरूले बुबाआमाका निम्ति जोहो गर्नुपर्दैन, तर बुबाआमाले छोराछोरीहरूका निम्ति गर्नुपर्छ।” (२ कोरिन्थी १२:१४)।

व्यवसाय गर्ने ख्रीष्टियनहरूलाई ख्रीष्टियनहरूले नै हेर्ने दृष्टिकोण फरक हुन सक्छ। ‘धन आर्जन गर्न भ्रष्टाचार गरेर मात्र हुन सक्छ’, ‘धनी मान्छेहरू स्वार्थी हुन्छन्’ जस्ता विचारहरू मानिसहरूले राख्न सक्छन्। एक ख्रीष्टियन व्यवसायीले इमान्दारितामा, वचन अनुसार व्यवसाय गर्दै ख्रीष्टिय साक्षी राख्न सम्भव छ। पैसा कमाउनु पाप होइन यो कुरा बाइबलमा कहिँ पनि लेखिएको छैन। इमान्दार भएर कमाउन सकिन्छ। म ख्रीष्टयन व्यावसायी भएकै कारण मैले के गर्नु हुन्छ के गर्नु हुदैन भन्ने अलगपनता राख्नु पर्छ। परमेश्वरलाई दिने समय, परिवारको लागि दिने समय, व्यावसाय लाइ दिने समय, सेवाकाइलाई दिने समयको बारेमा होसियारी हुनुपर्दछ। यस्ता धेरै कुराहरू सिक्ने अवसर पाएँ र मैले सिकेका कुराहरू बाँढ्न पाउँदा धेरै खुशी छु।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.