‘उनले मेरो तन्ना लिलाममा राखे’

हेटौँडा । थाहा दर्शनका प्रणेता एवं विशिष्ट राजनीतिक व्यक्तित्व रुपचन्द्र विष्टको २७औँ स्मृति दिवसका अवसरमा हेटौँडामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा–११ स्थित थाहा स्मृति भवनमा आयोजित उक्त कार्यक्रम थाहाका अभियन्ता तथा नेकपाका नेता वरिष्ठ अधिवक्ता रामनारायण विडारीको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा रुपचन्द्र विष्टको जीवन, दर्शन र उहाँले समाजमा ल्याउनुभएको चेतनाको विषयमा वक्ताहरूले गहन चर्चा गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले रुपचन्द्र विष्टलाई नेपाली राजनीति र समाजका एक दुर्लभ दार्शनिक नेताको रूपमा स्मरण गर्नुभयो। उहाँले मदन भण्डारीको वैचारिक उचाइलाई जस्तै विष्टको योगदानलाई पनि उत्तिकै सम्मानका साथ लिनुपर्ने बताउनुभयो। आफ्नो र विष्टबीचको सम्बन्धका रोचक किस्सा सुनाउँदै पूर्व मुख्यमन्त्री पौडेलले विष्टको स्पष्टवादिता र सचेतना जगाउने शैलीबारे चर्चा गर्नुभयो। पौडेलले स्मरण गर्नुभएअनुसार, एकपटक विष्टले दिएको पर्चा बिक्री गर्न नसक्दा उहाँले पौडेलको घरबाट तन्ना उठाएर गोर्खाली चोकमा लिलाम गरिदिनुभएको थियो। त्यस घटनालाई पौडेलले आफूलाई सचेत गराउने एक सन्देशका रूपमा लिएको बताउँदै विष्टले समाजको तल्लो तहसम्म पुग्ने भाषा र शैली अपनाउने गरेको स्मरण गर्नुभयो।

कार्यक्रममा अग्रज पत्रकार प्रताप विष्टले नेपालका धेरैजसो राजनीतिक नेताहरू वैचारिक र व्यावहारिक धरातलमा रुपचन्द्र विष्टको तुलनामा निकै कमजोर रहेको टिप्पणी गर्नुभयो। विष्ट जे भन्थे त्यही गर्थे र उनी पूर्णतः स्पष्टवक्ता थिए भन्दै उहाँको इमानदारिताको प्रशंसा गर्नुभयो। कार्यक्रममा बागमती प्रदेश सभा सदस्य, विभिन्न सञ्चारकर्मी, लेखक तथा अधिकारकर्मीहरूको उपस्थिति थियो। बागी भूगोल साप्ताहिक पत्रिकाको आयोजना र हेटौँडा–११ वडा कार्यालयको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा वडाध्यक्ष जुना दाहाल, पत्रकार रामकुमार एलन, लेखक युग पाठक, अधिवक्ता केशव गौतम, सामाजिक अभियन्ता विशालराज महत लगायतले विष्टको थाहा दर्शन र उहाँले देखाएको बाटो वर्तमान समयमा अझ बढी सान्दर्भिक रहेकोमा जोड दिनुभयो। वक्ताहरूले स्मारकभित्र निर्माण गरिएको थाहा स्तम्भ र संग्रहालयले विष्टको योगदानलाई जीवन्त राख्न मद्दत गरेको धारणा व्यक्त गर्नुभयो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.