हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ स्थित सरस्वती मितेरी चौरमा सञ्चालित ‘वडाध्यक्ष कप’ फुटबल प्रतियोगिताको उपाधि शान्ति चोक टोल विकास संस्थाले जितेको छ। असार ७ गते सम्पन्न फाइनल खेलमा डाङ्डुङ्गे टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गर्दै शान्ति चोक टोल विकास संस्थाले प्रतियोगिताको ट्रफी हात पारेको हो।
हेटौँडा–११ वडा बाल सञ्जालको आयोजनामा भएको उक्त प्रतियोगितामा वडाभित्रका १२ वटा टोल विकास संस्थाहरूका खेलाडीहरूले सहभागिता जनाएका थिए। नव–प्रतिभाहरूको पहिचान र खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्यका साथ आयोजित प्रतियोगितामा विजेता बन्न सफल शान्ति चोक टोल विकास संस्थालाई २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी, उपविजेता बनेको डाङ्डुङ्गे टोल विकास संस्थालाई १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ।
क्याप्टेन डोल्सी घलेको संयोजकत्वमा तथा वडा बाल सञ्जालकी अध्यक्ष आञ्चल सुवेदीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा हेटौँडा–११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा सदस्यहरू सञ्जय बिडारी, गोपिनी सापकोटा, विकास नेपाल र गीता सुनारलगायतको उपस्थिति थियो। वडास्तरीय यस प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुदप्रति उत्साह जगाउनुका साथै टोल–टोलबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।


































































