हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषयलाई अविलम्ब टुङ्गोमा पुर्याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग जोडदार आग्रह गर्नुभएको छ। नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौँडाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सडक विस्तारका कारण प्रभावित घरधनी तथा व्यवसायीहरूले भोग्नुपरेको पीडा र अनिश्चितताका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
नगर प्रमुख लामाले हेटौँडावासी, व्यवसायी र स्थानीय सरकार विकासको पक्षमा रहे पनि सडक विस्तारको विषयमा स्पष्ट निकासको खोजीमा रहेको बताउनुभयो। उहाँले विगत पाँच दशकदेखि २५ मिटर र ३१ मिटर सडक सीमाको अन्योल र त्रासमा नागरिकहरू बाँचिरहेको उल्लेख गर्दै लामो समयसम्म कायम रहेको अनिर्णयको अवस्थाले नागरिकलाई थप पीडित बनाएको धारणा राख्नुभयो। सडक विस्तारका क्रममा पर्याप्त तयारी र स्पष्टता नहुँदा बजार क्षेत्रमा भत्किएका संरचनाहरूले गर्दा व्यवसायीहरू आफ्नो व्यवसाय सञ्चालन गर्ने कि नगर्ने भन्ने दोधारमा रहेको उहाँको भनाइ थियो। नगर प्रमुख लामाले बैंकको भवन टिलिक्क टल्किए पनि त्यसको अगाडि भत्किएका घर र पसलको दृश्यले नागरिकको खुसी खोसेको बताउँदै विकासको वास्तविक अनुभूति नागरिकको मुहारमा देखिनुपर्नेमा जोड दिनुभयो।
यस विषयमा जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेटौँडा सडक विस्तारको विषयमा सरकार पूर्ण रूपमा जानकार रहेको बताउनुभयो। हाल यस विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले विस्तृत टिप्पणी गर्न नमिल्ने उल्लेख गर्दै उहाँले कानुनी जटिलताको हल गरी सडक विस्तारको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
सडक डिभिजन कार्यालय हेटौँडाले २०८२ मंसिर २० गते एकै दिन करिब ७ किलोमिटर सडक क्षेत्रभित्र पर्ने पाँच सयभन्दा बढी घरटहरा भत्काएपछि ‘सुन्दर नगरी’का रूपमा परिचित हेटौँडा बजारको स्वरूप नै फेरिएको छ। भत्किएका संरचनाका अवशेषहरू, ढुङ्गा, इँटा र फलामका टुक्राले पैदलयात्री र सवारी चालकलाई जोखिम बढाएको छ भने प्रभावित व्यवसायीहरू लामो समयदेखि आर्थिक अनिश्चितताको मारमा परेका छन्। स्थानीय सरकार र नागरिकको निरन्तर दबाबपछि यो विषय अब सरकारी तहमा थप प्राथमिकताका साथ छलफलमा आएको छ।


































































