हेटौंडा | दृष्टिविहीन विद्यार्थीहरूको सशक्तिकरण र सिर्जनात्मक क्षमताको विकासका लागि हेटौंडा उपमहानगरपालिका–५, पिप्लेमा रहेको बालज्योति माध्यमिक विद्यालयमा संगीत शिक्षकको व्यवस्था गरिएको छ।
रोटरी क्लब अफ हेटौंडाले “संगीत शिक्षक कार्यक्रम” अन्तर्गत एक वर्षका लागि दुई जना संगीत शिक्षकको व्यवस्था गरेको हो। क्लबले अष्ट्रेलियाको रोटरी क्लब अफ तास्मानियाको आर्थिक सहयोगमा यो कार्यक्रम संचालन गर्दै आएको छ। यो क्रम सन् २०२५ मा तेस्रो वर्ष प्रवेश गरेको हो।
यस कार्यक्रममार्फत शिक्षक तुलुक लामा र सुनिल केसीले विद्यालयमा अध्ययनरत ११ जना दृष्टिविहीन विद्यार्थीहरूलाई संगीत प्रशिक्षण प्रदान गर्ने छन्। संगीत शिक्षा मार्फत दृष्टिविहीन विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनात्मकता र सामाजिक सहभागिता बढाउने उद्देश्य लिएको क्लबले जनाएको छ।
कार्यक्रम उद्घाटन समारोहमा रोटरी क्लब अफ हेटौंडाका पूर्व अध्यक्षहरू धिरजकुमार कार्की क्षेत्री र उज्जवल शर्मा भण्डारी, २०२४/२५ का अध्यक्ष प्रकाश ढकाल, निर्वाचित अध्यक्ष प्रमेश प्रधान, बालज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतप्रसाद अर्याल तथा जगत न्यूज डटकमका सम्पादक अशोकसुजन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
रोटरी क्लब अफ हेटौंडाका पदाधिकारीहरूले आगामी दिनमा पनि दृष्टिविहीन तथा विशेष आवश्यकता भएका विद्यार्थीहरूका लागि यस्ता सशक्तिकरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।