हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा गत शुक्रबार जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको सम्भावित स्थान पत्ता लागेको छ। भूगर्भविद् कृष्ण पाण्डेको टोलीले “प्रोटोन म्याग्नेटोमिटर” नामक उपकरण प्रयोग गरी गाडी भएको आशंकित क्षेत्र पहिचान गरेको हो।
गाडीमा प्रयोग हुने चुम्बकीय सामग्रीको आधारमा जमिनमुनि चुम्बकीय प्रतिक्रिया खोज्ने उक्त प्रविधिबाट गाडी भासिएको स्थानको केही पूर्वतर्फ तीव्र संकेत देखिएको भूगर्भविद् पाण्डेले जानकारी दिए।
“तीव्र चुम्बकीय प्रतिक्रिया देखिएको स्थानमै गाडी हुनसक्ने प्रबल सम्भावना देखिएको छ,” पाण्डेले भने, “अब गहिराइ कति छ भन्ने पत्ता लगाउन अर्को विशेष उपकरण प्रयोग गरिरहेका छौं।”
उक्त गाडी घाँस काट्ने मेसिन लोड गरिरहेका बेला अचानक जमिन भासिएर माटोमा पुरिएको थियो। तीन दिनसम्मको प्रयासमा गाडी फेला नपरेपछि भूगर्भविद्को सहयोगमा खोजी कार्य अघि बढाइएको हो।